भारतसँगको सीमामा ३९४ किलोमिटर लामो राजमार्ग बनाउँदै चीन


काठमाडौं । चीनले आफ्नो १५औँ पञ्चवर्षीय योजना अन्तर्गत आगामी पाँच वर्षमा भारतसँग जोडिएका संवेदनशील सीमावर्ती क्षेत्रहरूमा रणनीतिक यातायात सञ्जाललाई थप सुदृढ बनाउने योजनामा काम गरिरहेको छ ।
हङकङस्थित ‘साउथ चाइना मर्निङ पोस्ट’ले १५औँ पञ्चवर्षीय योजनाको मस्यौदा प्रतिवेदनलाई उद्धृत गर्दै एउटा परियोजना अन्तर्गत शिनजियाङ उइगुर स्वायत्त क्षेत्रमा अवस्थित दुर्गम तियानशेन पर्वत शृंखलाको उत्तरी र दक्षिणी भागलाई जोड्न ३९४ किलोमिटर लामो राजमार्ग निर्माण गरिने उल्लेख गरेको छ ।
योजना स्वीकृतिका लागि पठाइयो एनपीसीमा
यो पञ्चवर्षीय योजना अहिले चलिरहेको चीनको राष्ट्रिय विधायिका, ‘नेसनल पिपुल्स कंग्रेस’को अनुमोदनका लागि प्रस्तुत गरिएको छ । यो मार्ग विवादित अक्साई चीन क्षेत्र भएर जाने एक रणनीतिक सडकको समानान्तर बन्नेछ, जसको निर्माण सन् १९६२ को भारत–चीन सीमा युद्धपछि सैन्य परिचालनलाई सहज बनाउन गरिएको थियो । मध्य शिनजियाङमा दुशान्जी–कुका राजमार्गको निर्माण सन् २०३२ सम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ ।
तिब्बत जाने राजमार्गलाई पनि सुधार गर्ने चीनको लक्ष्य
यस पञ्चवर्षीय योजनामा तिब्बततर्फ जाने तीनवटा विद्यमान राजमार्गहरूको स्तरोन्नतिका लागि पनि प्रस्ताव गरिएको छ ।
चीनको भविष्यका लागि सबैभन्दा महत्वपूर्ण मानिएको १५औँ पञ्चवर्षीय योजनामा, कमजोर हुँदै गएको अर्थतन्त्रलाई गति दिन आर्टिफिसियल इन्टेलिजेन्स, ई–वाहन र ब्याट्रीजस्ता ‘नयाँ उत्पादक शक्ति’हरूमा विशेष जोड दिइएको छ ।
यो पञ्चवर्षीय योजनालाई सत्तारुढ कम्युनिस्ट पार्टीले यसअघि नै स्वीकृति दिइसकेको बताइएको छ ।
चीनका योजनाहरूले भारतमा बढायो चिन्ता
एनपीसीलाई कम्युनिस्ट पार्टीको ‘रबर–स्ट्याम्प’ संसद् मानिन्छ । यसले आफ्नो वर्तमान सत्रमा यो योजनालाई अनुमोदन गर्ने निश्चित छ ।
चीनले गत वर्ष १४औँ पञ्चवर्षीय योजना पूरा गरेको छ, जसको अवधिमा उसले भारतीय सीमानजिक ब्रह्मपुत्र नदीमा तिब्बतमा विश्वकै सबैभन्दा ठूलो बाँध निर्माण सुरु गर्यो ।
गत जुलाईमा चीनले १७० अर्ब अमेरिकी डलर लागतमा यो बाँध निर्माण सुरु गरेको छ, जसलाई विश्वकै सबैभन्दा ठूलो पूर्वाधार परियोजना भनिएको छ ।
यस अन्तर्गत ठूलो मात्रामा पानी जम्मा गर्ने क्षमता र नदीको बहावमा आउनसक्ने परिवर्तनलाई लिएर भारत र बंगलादेशजस्ता तटीय देशहरूमा चिन्ता पैदा भएको छ । द इकोनोमिक टाइम्स






















