देश

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ आज

नवलपुर टुडे
२०८२ फाल्गुन २५ | बिहान ०७:११ बजे

काठमाडौँ, फागुन २५ । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ फागुन २५ गते सोमबार हुँदै छ । निर्वाचित सदस्यलाई राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ गराउनुहुने छ ।

सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता अनन्तप्रसाद कोइरालाले सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको हलमा दिउँसो २ बजे शपथग्रहण कार्यक्रम हुने जानकारी दिनुभयो । उहाँले गएको माघ ११ गते निर्वाचित राष्ट्रिय सभाका १८ जना सदस्यलाई शपथ समारोहमा उपस्थित हुन सचिवालयले आग्रह गरेको बताउनुभयो । शपथका लागि नवनिर्वाचित सदस्यले निर्वाचित भएको प्रमाणपत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि एक/एक प्रतिसहित उपस्थित हुनुपर्ने छ । शपथग्रहणपछि सभाका अध्यक्ष दाहालले धारणा राख्नुहुने छ । 

सचिवालयले बिदाइ भएर जाने २० जना सदस्यको बिदाइ कार्यक्रमसमेत सोमबार नै राखेको छ । सचिवालयका अनुसार बिदाइ भएर जाने सदस्यको बिदाइ कार्यक्रम अपराह्न ४ बजे बानेश्वरस्थित एक होटेलमा राखिएको छ । सोही कार्यक्रममा नवनिर्वाचित सदस्यलाई ‘लोगो’ दिने र कार्यकाल सकिएका सदस्यलाई मायाको चिनो प्रदान गरिने छ । 

कमेन्टहरु