इरानमाथि आक्रमण गर्न अमेरिकाले भारतीय बन्दरगाहहरू प्रयोग गरिरहेको हो त ?


नयाँ दिल्ली । भारतीय विदेश मन्त्रालयले इरानविरुद्ध सैन्य कारबाहीका लागि अमेरिकाले भारतीय बन्दरगाह र नौसेना अड्डाहरू प्रयोग गरिरहेको दाबीलाई अस्वीकार गरेको छ । विदेश मन्त्रालय यी दाबीहरूलाई निराधार र बनावटी भनेर स्पष्ट रूपमा अस्वीकार गरेको हो । यी दाबीमा कुनै सत्यता नभएको उसको जिकीर छ ।
पूर्व अमेरिकी सेना अधिकारी कर्नल डगलस म्याकग्रेगरको अन्तर्वार्ता पछि यो प्रतिक्रिया आएको हो । अमेरिकी च्यानल ‘वन अमेरिका न्यूज नेटवर्क’सँगको अन्तर्वार्तामा म्याकग्रेगरले अमेरिकाले इरानसँगको युद्धमा धेरै नौसेना अड्डाहरू गुमाएको थियो र भारतीय बन्दरगाहहरूमाथि भर पर्न बाध्य भएको दाबी गरेका थिए ।
अमेरिकाका सबै सैन्य अड्डाहरू नष्ट भएको अनि बन्दरगाह पूर्वाधार ध्वस्त भएको म्याकग्रेगरले भनेका थिए । यस्तोमा आफूहरूले भारत र भारतीय बन्दरगाहहरूमाथि भर पर्नु पर्ने र यो आदर्श अवस्था नभएको उनको भनाइ थियो ।
के थियो विदेश मन्त्रालयको प्रतिक्रिया ?
यी दावीहरूको जवाफ दिँदै, विदेश मन्त्रालयले बुधबार सामाजिक सञ्जाल प्लेटफर्म एक्समा भन्यो, ‘हामी तपाईंलाई यस्ता निराधार र बनावटी टिप्पणीहरू गर्नबाट टाढा रहन सल्लाह दिन्छौं ।’
भारतले कुनै पनि देशलाई इरान विरुद्ध सैन्य आक्रमणको लागि आफ्नो बन्दरगाह प्रयोग गर्न दिइरहेको छैन भनेर मन्त्रालयले स्पष्ट पारेको थियो ।
साथै पश्चिम एसियामा जारी द्वन्द्वबारे भारतले गहिरो चिन्ता पनि व्यक्त गरेको थियो । भारतले सबै पक्षहरूलाई संयम अपनाउन, तनावलाई थप बढ्नबाट रोक्न र नागरिकहरूको सुरक्षालाई प्राथमिकता दिन अपील गरेको छ ।






















