कर्णालीका कृषकलाई ग्लोबल आइएमई बैंकले ब्याज अनुदानमा कर्जा दिने


काठमाडौं । ग्लोबल आइएमई बैंकले कर्णालीका कृषकलाई ब्याज अनुदानमा कर्जा प्रवाह गर्नेबारे कर्णाली प्रदेश सरकारसँग सम्झौता गरेको छ ।
बैंकले कर्णाली प्रदेश अन्तर्गतका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग प्रदेशका व्यवसायिक कृषि तथा पशुपन्छी पालनमा संलग्न कृषकहरुलाई व्याज अनुदान प्रदान गर्न समझदारी गरेको हो । मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्र र बैंकको कर्णाली प्रादेशिक कार्यालय प्रमुख विष्णु अर्यालले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
समझदारी पत्रमा ग्लोबल आइएमई बैंकले मन्त्रालयले स्वीकृत गरेको ‘व्यवसायिक कृषि तथा पशुपन्छी पालन व्यवसायका लागि ब्याज अनुदान कार्यविधि, २०७६’ अनुरुप कर्णाली प्रदेशका व्यवसायिक कृषकहरूका लागि व्याज अनुदान कार्यक्रम संचालन गर्ने उल्लेख गरिएको छ ।
उल्लेखित सम्बन्धी व्यवसाय विकासमार्फत कृषकहरूको रोजगारीमा बृद्धि गरी जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले सहुलियतपूर्ण कृषि कर्जा उपलब्ध गराउनेछ । यस ब्याज अनुदान कार्यक्रम संचालनका लागि नेपाल राष्ट्र बैंक र कर्णाली प्रदेशले आवश्यक समन्वय तथा सहजीकरण गर्ने बैंकले जनाएको छ ।






















