उज्यालो नेपाल पार्टीद्वारा उम्मेद्वारी फिर्ताबारे फैलिएको अफवाहको खण्डन

एजेन्सी
२०८२ फाल्गुन १८ | मध्यान्ह ०६:११ बजे

काठमाडौं, फागुन १८। उज्यालो नेपाल पार्टीले केही निर्वाचन क्षेत्रमा उम्मेदवारी फिर्ता लिएको भन्ने विषयमा फैलिएको समाचारलाई असत्य र भ्रामक भएको स्पष्ट पारेको छ ।
पार्टीका प्रवक्ता डा।राजु थापाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा मोरङ–६, डोल्पा र अछामलगायतका क्षेत्रमा पार्टीले उम्मेदवारी छोडेको भन्ने अफवाह फैलिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
विज्ञप्तिमा आसन्न प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा पार्टीले आधिकारिक रूपमा उम्मेदवारी फिर्ता गराउने कुनै निर्णय नगरेको स्पष्ट गरिएको छ ।
पार्टीले सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत तथ्यहीन सूचना नफैलाउन तथा आधिकारिक जानकारीका लागि पार्टीका आधिकारिक स्रोतहरूलाई मात्र आधार बनाउन आग्रह गरेको छ ।






















