मङ्गलबार ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण लाग्ने


काठमाडौँ । फाल्गुन शुक्ल पूर्णिमाका दिन मङ्गलबार बेलुकी ग्रस्तोदित खण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने) चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले मङ्गलबार दिउँसो ३ बजेर ३४ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग)मा उल्लेख गरिएको छ ।
पृथ्वीले सूर्यलाई पूर्ण रुपमा छेक्दा पूरा चन्द्रमा ढाकिने अवस्था खग्रास चन्द्रग्रहण हो । आधा वा केही खण्ड ढाकिने खण्डग्रास चन्द्रग्रहण हो । पृथ्वी, सूर्य र चन्द्रमा एउटै सूत्रमा पर्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्नु नै चन्द्रग्रहण हो ।
यो ग्रहण यस वर्ष नेपालबाट दोस्रो पटक ग्रहण देखिन लागेको हो । यसअघि गत भदौ २२ गते खग्रास चन्द्रग्रहण लागेको थियो । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ ।
ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्री, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।
सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताए । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । ग्रहणमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकलाई शास्त्रीय रुपमा भोजन निषेध गरिएको पनि उनले बताए ।
मङ्गलबार बिहान ९ः०३ बजेपछि बालबालिका, वृद्धवृद्धा र आतुरबाहेकले भोजन गर्नु नहुने शास्त्रीय मान्यता रहेको समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ ।
विशेष उपकरणविना नै हेर्न सकिन्छ चन्द्रग्रहण
विश्वमा सन् २०२६ मा लाग्ने दुई चन्द्रग्रहण र दुई सूर्यग्रहण गरी जम्मा चार ग्रहणमध्ये नेपालबाट भने भोलिको चन्द्रग्रहण खण्डग्रास चन्द्रग्रहणका रूपमा देखिनेछ । मौसमले साथ दिएका खण्डमा देशका सबै भागबाट उक्त खण्डग्रास चन्द्रग्रहण प्रष्ट देख्न सकिने खगोलको क्षेत्रमा काम गर्दै आएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । चन्द्रग्रहण हेर्न कुनै विशेष उपकरणको आवश्यकता पर्दैन ।
मङ्गलबार नेपालमा चन्द्रोदयपछि बेलुकी ०७ः ०२ बजेसम्म लाग्ने खण्डग्रास चन्द्रग्रहण मौसमले साथ दिएमा प्रष्ट रुपले हेर्न सकिनेछ । सन् २०२६ मा नेपालबाट देख्न सकिने यो एकमात्र ग्रहण भएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।
ग्रहण अवलोकन आफ्नो घरको छत, वा खुला चौर वा नजिकैको डाँडा आदिबाट गर्न सकिनेछ । चन्द्रोदयसँगै नेपालमा सुरू हुने यो ग्रहण हेर्न नजिकैको उच्च भूगोल उत्तम हुने उनले बताए ।
पृथ्वीले सूर्यलाई परिक्रमा गरिरहँदा चन्द्रमाले पनि पृथ्वीलाई परिक्रमा गरिरहेको हुन्छ । यस क्रममा पृथ्वी जब सूर्य र चन्द्रमाको बीचमा पर्न जान्छ, तव पृथ्वीको छाँया चन्द्रमामा पर्दछ । चन्द्रमाको आफ्नो प्रकाश नभएका कारण पृथ्वीको उक्त छायाँले चन्द्रमा छेकिन्छ, यसलाई नै चन्द्रग्रहण भनिन्छ ।
सूर्य, पृथ्वी र चन्द्रमा पूर्णिमा वा औँसीको समयमा एउटै सरल रेखामा पर्नसक्ने भए पनि सबै पूर्णिमा चन्द्रग्रहण सम्भव हुँदैन किनभने चन्द्रमाको कक्षीय धरातलले पृथ्वीको कक्षीय धरातलमा करिब ५ डिग्रीको कोण बनाएको हुन्छ ।
यस्तै चन्द्रमाको कक्षले पृथ्वीको कक्षीय धरातललाई दुई बिन्दुमा काटेको हुन्छ । यी दुई बिन्दुलाई प्राचीन ज्योतिष शास्त्रमा राहु र केतु नाम दिइएको उनले बताए ।






















