कांग्रेस महाधिवेशनको नयाँ कार्यतालिकामा शीर्ष नेताहरुबीच सहमति जुटेन


काठमाडौं । कांग्रेसले अब केन्द्रीय सदस्यहरुको सुझावपछि मात्रै महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने भएको छ । महाधिवेशन कार्यतालिकाका बारेमा शीर्ष नेताहरुबीच निरन्तर छलफल भएपनि अझै सहमति जुट्न सकेको छैन ।
बिहीबार केन्द्रीय समिति बैठक बस्नुअघि शीर्ष नेताहरुबीच महाधिवेशनको नयाँ कार्यतालिकाका विषयमा छलफल भएको थियो । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अहिले प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा जारी रहेको छ । बैठकमा महाधिवेशन कार्यतालिका र निर्वाचन निर्देशिका पेश गर्ने एजेण्डा थियो तर शीर्ष तहका नेताहरुबिच सहमति नजुटेपछि महाधिवेशन कार्यतालिका पेश नभएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
बैठकमा निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेव यादवले निर्वाचन निर्देशिका पेश गरेका थिए भने क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले सदस्यताबारे ब्रिफिङ गरेका थिए । प्रवक्ता शर्माले भने ‘केन्द्रीय सदस्यहरुको सुझावपछि महाधिवेशनको कार्यतालिका आउँछ´।
प्रधानमन्त्रीको सरकारी निवासमा पार्टी बैठक नगर्ने घोषणा गरेका देउवाले पार्टी कार्यालयमा विभिन्न जिल्लाका नेता कार्यकर्ताको धर्नाका कारण आफ्नै निजी निवासमा केन्द्रीय समिति बैठक बोलाएका हुन् ।भदौ १६–१९ सम्म निर्धारित कार्यतालिकामा महाधिवेशन नहुने भएपछि कांग्रेसमा नयाँ कार्यतालिकाका बारेमा शीर्ष तहमा छलफल भइरहेको छ ।
कांग्रेस सभापति देउवा निर्धारित मितिमा महाधिवेशन नहुने भएपछि नयाँ कार्यतालिका ल्याउनुपर्ने पक्षमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले भने क्रियाशील सदस्यता विवाद नटुंग्याएसम्म कार्यतालिका ल्याउन नहुने अडानमा छन् ।






















