देश

सगरमाथाको उचाइ घोषणाको तयारी अन्तिम चरणमा

जगत ठाडा मगर
२०७७ अशोज २७ | मध्यान्ह ०३:०६ बजे

काठमाडौँं । विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाइ घोषणा तयारीको काम अन्तिम चरणमा पुगेको सरकारी अधिकारीहरुले बताएका छन् ।

उचाइ घोषणाको काम कहिले, कुन तहबाट र कस्तो कार्यक्रम गरेर घोषणा गर्ने भन्ने सम्बन्धमा नापी विभागले भूमिव्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयसँग छलफल गरिरहेको छ ।

सगरमाथाको उचाइ मापनको काम एक बर्षअघि नै सकिएको हो । ‘उचाइ घोषणाका लागि हामी तयार छौ, हाम्रो तर्फबाट घोषणाका लागि अब कुनै प्राविधिक तयारीको काम बाँकी छैन’, नापी विभागका सूचना अधिकारी दामोदर ढकालले भने ।

नेपालले उचाइ मापन गरिरहेकै समयमा चीनसँग उचाइ संयुक्त रुपमा घोषणा गर्ने सहमति भएपछि नापी विभागले त्यसलाई पर्खेको हो । गत बर्षको अक्टोबार महिनामा चिनियाँ राष्ट्र«पति सि जिनफिङको भ्रमणको समयमा संयुक्त रुपमा सगरमाथाको उचाइ घोषणा गर्ने सहमति भएको थियो ।

सगरमाथाको उचाइ ८,८४८ मिटर हो । तर, २०७२ सालको भूकम्प र अन्य कारणले उचाइमा केही तलमाथि भएको र लामो समयदेखि मापन नभएका कारण नेपालले आफैंले उचाइ मापनको काम अगाडि बढाएको हो ।

भूमिसुधार मन्त्रालयका सहसचिव एवं प्रवक्ता जनकराज जोशीले मापनको काम लगभग सकिएको र उचाई घोषणको लागि तयारी अवस्थामा रहेको बताए ।
सरकारी अधिकारीहरुका अनुसार परराष्ट्र मन्त्रालयले जति छिटो चिनियाँ पक्षसँग बसेर यो विषय टुंगो लगाउँछ, त्यति नै छिटो उचाइ घोषणा हुनेछ । परराष्ट्र मन्त्रालयले भने यस विषयमा केही बताउन चाहेन ।

कमेन्टहरु