किसानबाट ११ हजार क्वीन्टल धान खरिद


महेन्द्रनगर (धनुषा), फागुन १७। यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मधेस प्रदेश कार्यालय जनकपुरधामले विगत तीन महिना महोत्तरी र धनुषाका किसानबाट ११ हजार ६६५ क्वीन्टल धान खरिद गरेको छ ।
कार्यालयका प्रादेशिक प्रमुख निर्मल थापाका अनुसार महोत्तरी र धनुषा जिल्लाका ३०० किसानबाट रु चार करोड २३ लाख २४ हजार मूल्यबराबरको धान खरिद गरिएको हो । साथै कार्यालयको गोदाम भरिएपछि अहिले धान खरिद गर्न रोक्का गरिएको छ । प्रतिक्विन्टल तीन हजार ६२८ रुपैयाँ ३३ पैसाका दरले धान खरिद गरिएको हो ।
कम्पनीले प्रतिकिसान अधिकतम ५० क्विन्टलसम्म धान खरिद गर्दै आएको छ । स्थानीय तहको सिफारिसका आधारमा केही किसानबाट ५५ क्विन्टलसम्म धान खरिद गरिएको सहायक प्रबन्धक साहले बताउनुभयो । धानको भुक्तानी भने सरकारले किसानको बैंक खातामै पठाउने व्यवस्था गरेको छ ।
धान बिक्री गर्ने किसानमध्ये धनुषा लक्ष्मीनिया गाउँपालिका, नगराइन नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका तथा महोत्तरीको बलवा नगरपालिकाका किसान बढी रहेको उहाँले बताउनुभयो । यस वर्ष कार्यालयले १३ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको थियो । तर धान राख्ने ठाउँ कमीका कारण धान किन्न बन्द गरेको थियो । धान खरिदअघि गुणस्तर परीक्षण गर्ने गरिएको र गुणस्तरीय धान मात्र खरिद भइरहेको कार्यालयको गुणस्तर शाखाकी अधिकृत सरला प्रजापतिले जानकारी दिनुभयो ।






















