देश

लुम्बिनी प्रदेशका प्रहरी प्रमुखमाथि छानबिन गरि कारवाही गर्न सांसदको माग

जगत ठाडा मगर
२०७८ साउन २८ | मध्यान्ह ०५:०४ बजे

काठमाडौं । नेपाली काँग्रेसका सांसद तथा पुर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी मुकुन्दराज आचार्यलाई कारवाही गर्न माग गरेका छन् ।

कँडेलले प्रतिनिधिसभाको बैठकमा बोल्दै इलाका प्रहरी कार्यालय नवलपरासी बर्दघाटका प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्युको कारक भएको र भट्राचार निवारण ऐन २०६९ को दफा २ क ७१८ बमोजिम भट्राचार हुने कसुरसमेत गरेको भन्दै कारवाही गर्न माग गरेका हुन् ।

प्रतिनिधिसभाको बैठकमा सांसद कँडेलले व्यक्त गरेको घटना विवरण :

साउन २३ गते नवलपरासी पश्चिम बर्दघाटमा प्रहरी चेकजाँचका क्रममा ५ सय ९५ थाम मोबाइल सहित २ जनालाई पक्राउ गरेको थियो । प्रदेश नम्बर ३ ०१ ०२३ च ५५४४ को सेतो पिकअपमा उनीहरुले अवैध मोबाइल तस्करी गरेर ल्याएका थिए ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय बर्दघाटमा आवश्यक कारवाहीका लागि राखिन्छ । चोरी पैठारी गरेको ल्याएको मोबाइल र सवारी साधनलाई महेशपुर भन्सार पठाउने प्रक्रिया पूरा नहुँदै ३ घण्टापछि पक्राउ व्यक्तिलाई छाडिएको थियो ।

प्रहरीले छोडेपछि लुम्बिनी प्रदेशको सिमाना काट्दै दाउन्ने हुँदै गण्डकी प्रदेशको दुम्कीबासमा इलाका प्रहरी कार्यालय कावासोतीले चेकजाँच गर्ने क्रममा अघिल्लो दिन बर्दघाट प्रहरीले छोडिदिएको मोबाइलसहित २ जना पक्राउ पर्छन् ।

जिल्ला प्रहरी कार्यालय कावासोतीले सोधपुछ गर्दा घुमुवा प्रहरी सञ्जीव धमलाको बर्दघाट बाणिज्य बैंकको खातामा १३ लाख रुपैयाँ बुझाएपछि छाड्ने निर्देशन आएपछि छाडिएको बताउँछन् ।

घटना सार्वजनिक भएपछि ती प्रहरी जवानलाई निलम्बन गरियो । साउन २२ गते जिल्ला प्रहरी कार्यालय कावासोतीले कानुनी प्रक्रिया पूरा गरी बरामद गरिएका सामान र व्यक्तिलाई महेशपुर भन्सारमा बुझाएको थियो ।

पक्राउ गरिएको मोबाइलको मूल्य १ करोड ३३ लाख मूल्याङकन गरिएको छ । लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी मुकुन्द आचार्यले नवलपरासी जिल्ला प्रहरी कार्यालयमा एसपी भई काम गरेको अनुभव पनि रहेको छ । उनले आफू मातहत रहेका प्रहरी चौकीबाट मासिक निश्चित रकम उठाउने गरेको सांसद कँडेलले दावी गरे ।

बर्दघाट इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कपिल वाग्लेले ८ वर्षसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गरेको र ८ वठा पुरस्कारबाट सम्मानित भएको कँडेलले बताए । वाग्लेले बर्दघाट क्षेत्रमा हुने चोरी पैठारी रोकी १ करोड १७ लाख राजस्व दाखिला गरेका कर्तव्यनिष्ठ इमान्दार प्रहरी भएको उल्लेख गरे ।

साउन २१ गते घुस लिएर मोबाइल छाडेको बिषय कसले सार्वजनिक गरेको भनेर प्रहरी निरीक्षक वाग्लेमाथि माथिल्लो तहबाट मानसिक यातना दिएको र साउन २५ गते आफ्नो निलम्बनको पत्र आएपछि साँझ ६ बजेपछि आफ्ना मातहतका प्रहरीलाई जम्मा पारेर उनले–‘आफैले निर्देशन दिएर छोडाउने, अनि पछि मलाई नै फसाउने, कसैमाथि विश्वास गर्नुहुँदैन भाइहरू’ भनेर साँझ साढे ७ बजे कालो रंगको ब्याग लिई प्रहरी कार्यालयबाट निस्किएका थिए ।

प्रहरी कार्यालयबाट २ सय मिटर अगाडि राजमार्ग पुगेपछि लु १४ प ८७५८ निलो रंगको पल्सर बाइकको ठक्करबाट उनको निधन भएको सांसद कँडेलले सदनमा जानकारी गराए । उनले २२ वर्ष प्रहरीमा सेवा गरेको इमान्दार प्रहरी भएको बताउँदै उनको लागि न्यायको माग गरे ।

सांसद कँडेलले मानसिक तनावमा रहेका उनले बाटो काट्दा सवारी साधनको ठक्करबाट मृत्यु भएको देखिए पनि लुम्बिनी प्रदेश प्रमुख आचार्यले दिएको तनावका कारण मानसिक सन्तुलन गुमाई प्रहरी निरिक्षक वाग्लेको ज्यान गएको दावी गरे ।

उनले मुलुकी अपराध संहिता २०७४ को दफा १ सय ८५ को कसुर र तस्करी समेतको कसुरमा तत्काल निलम्बन गरी उच्चस्तरीय छानविन गरी तस्करी, आर्थिक लेनदेन समेतको कल डिटेल निकाली कारवाहीका लागि उच्चस्तरीय छानविन समिति बनाउन सभामुख सापकोटालाई आग्रह गरे ।

कमेन्टहरु