इरानमाथि अमेरिका र इजरायलको आक्रमण : किन भड्कियो युद्ध र अहिलेसम्म के-के भयो?


तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठूलो सैन्य कारबाही भनेर वर्णन गरेको यस कदमअन्तर्गत अमेरिका र इजरायलले राजधानी तेहरानसहित इरानका विभिन्न स्थानहरूमा आक्रमण गरेका छन्।
ट्रम्पले हप्तौंदेखि दिँदै आएको निरन्तरको चेतावनी र अमेरिका-इजरायलले इरानविरुद्ध १२ दिने युद्ध भएको आठ महिनापछि यो आक्रमण भएको हो। इरानको आणविक र ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई लिएर अमेरिका र इरानबिच वार्ता भइरहेकै समयमा यो आक्रमण भएको हो।
यसको जवाफमा इरानले उत्तरी इजरायल र मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरेको छ। इरान र इजरायलमा भएको मानवीय र भौतिक क्षतिको विस्तृत विवरण भने हालसम्म आउन सकेको छैन।

इरानमा के भयो?
शनिबार बिहान करिब ९:२७ बजे इरानको फार्स समाचार एजेन्सीले राजधानी तेहरानमा शृङ्खलाबद्ध विस्फोट भएको खबर दिएको थियो। पश्चिमी तेहरानमा रहेका अल जजिराका संवाददाताले दुईवटा विस्फोटको आवाज सुनेको बताएका थिए भने सामाजिक सञ्जालमा सेयर गरिएका भिडियोहरूमा सहरका विभिन्न भागबाट धुवाँ उडिरहेको देखिएकी थियो।
सुरुमा इजरायलले इरानभित्रका लक्ष्यहरूमा क्षेप्यास्त्र प्रहार गरेको घोषणा गरेको थियो। एक अमेरिकी अधिकारीले अल जजिरालाई बताएअनुसार यी आक्रमणहरू इजरायलसँगको संयुक्त सैन्य अभियानको हिस्साका रूपमा गरिएका थिए। हालैका हप्ताहरूमा वासिङ्टनले यस क्षेत्रमा लडाकु विमान र युद्धपोतहरूको ठूलो बेडा भेला गरेको थियो, जुन इराक युद्धपछिको सबैभन्दा ठूलो सैन्य तैनाथी हो।
ट्रम्पले यो अपरेसनलाई व्यापक र निरन्तर चलिरहने बताएका छन्। अमेरिकी रक्षा मन्त्रालयले पछि यस मिसनको नाम अपरेसन एपिक फ्युरी राखिएको जनाएको छ। यो संयुक्त आक्रमण सुरु भएपछि अमेरिकी सेनाको तर्फबाट आएको पहिलो सार्वजनिक बयान थियो।

अमेरिका र इजरायलले इरानमा कहाँ-कहाँ आक्रमण गरे?
तेहरानको युनिभर्सिटी स्ट्रिट, जोमहौरी क्षेत्र र इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सको मुख्यालय नजिकै धेरै क्षेप्यास्त्रहरू प्रहार भएको फार्सले जनाएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार इरानको राजधानीमा सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको कार्यालय नजिकै आक्रमण भएको छ।
इरानको तस्निम समाचार एजेन्सीका अनुसार तेहरानको उत्तरी क्षेत्र सैयद खन्दानमा पनि विस्फोट भएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार केरमानसाह, कोम, ताब्रिज, इस्फाहान, इलम र काराज सहरका साथै लोरेस्तान प्रान्तमा पनि विस्फोटका खबरहरू आएका छन्।
ट्रम्पले के भने?
ठूलो सैन्य कारबाहीको घोषणा गर्दै ट्रम्पले अमेरिकी अभियानको उद्देश्य उनीहरूका क्षेप्यास्त्र नष्ट गर्ने र उनीहरूको क्षेप्यास्त्र उद्योगलाई ध्वस्त पार्ने रहेको बताए। ‘हामी उनीहरूको नौसेनालाई सखाप पार्नेछौँ,’ ट्रम्पले थपे।
उनको सन्देशका मुख्य बुँदाहरू यसप्रकार छन्:
- अमेरिकाले इरानमा व्यापक र निरन्तर रहने भन्दै ठूलो सैन्य कारबाही सुरु गरेको छ।
- वासिङ्टनले इरानी सरकारबाट रहेको आसन्न खतरालाई समाप्त गर्नु यसको उद्देश्य रहेको बताएको छ।
ट्रम्पका अनुसार यस सैन्य अभियानका उद्देश्यहरू निम्न छन्:
- इरानको क्षेप्यास्त्र क्षमता नष्ट गर्ने।
- इरानको नौसेनालाई लक्षित गर्ने।
- यस क्षेत्रमा इरान समर्थित सशस्त्र समूहहरूलाई तहसनहस पार्ने।
- इरानले आणविक हतियार प्राप्त गर्न नपाउने कुरा सुनिश्चित गर्ने।
उनले इरानी सैन्य कर्मचारीहरूलाई चेतावनीसहितको प्रस्ताव पनि राखे। ट्रम्पले भनेका छन्, यदि उनीहरूले हतियार बिसाए भने आममाफी दिइनेछ, तर त्यसो नगरे निश्चित मृत्यु को सामना गर्नुपर्नेछ। उनले अमेरिकी सेनाले पनि क्षति बेहोर्नुपर्ने सम्भावना रहेको स्वीकार गरे।
रोयटर्सले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै ट्रम्प प्रशासनले बहुदिने अपरेसनको योजना बनाइरहेको जनाएको छ।
अमेरिकी राष्ट्रपतिको भनाइले ट्रम्प इरानमा क्रान्तिको आधार तयार गरिरहेका छन् भन्ने संकेत गर्छ। यो सीआईएले इरानका लोकतान्त्रिक रूपमा निर्वाचित प्रधानमन्त्री मोहम्मद मोसादेगविरुद्ध ‘कू’ गराएको ७३ वर्षपछिको घटना हो भनी अल जजिराका वासिङ्टन संवाददाता एलन फिसरले रिपोर्ट गरेका छन्।
‘उनीहरूले यो पहिले पनि गरेका थिए। तर यस पटक सीआईए मार्फत लुकेर नभई हतियार र बमको प्रयोग गरेर गर्दैछन्,’ फिसरले भने, ‘यो निरन्तर चल्ने सैन्य अभियान हो भन्ने स्पष्ट छ, जसमा डोनाल्ड ट्रम्पले क्षति हुन सक्ने तथ्यलाई पनि स्वीकारेका छन्।’

अमेरिका र इजरायलले इरानमाथिको आक्रमणलाई कसरी सही ठहराइरहेका छन्?
इरानको आणविक कार्यक्रम र क्षेत्रीय प्रभावलाई लिएर वर्षौFदेखिको टकरावपछि अमेरिका र इजरायलले यो आक्रमण गरेका हुन्। यी दुई मित्र राष्ट्रहरूले इरानको बढ्दो युरेनियम प्रवर्धन गतिविधि र क्षेप्यास्त्र क्षमताले आफूहरूलाई खतरा रहेको लामो समयदेखि दाबी गर्दै आएका छन्।
उनीहरूले तेहरानविरुद्ध बल प्रयोग गर्न सक्ने चेतावनी बारम्बार दिँदै आएका थिए। इरानले भने आणविक बम बनाउने आफ्नो कुनै मनसाय नरहेको सार्वजनिक रूपमा पटक-पटक प्रतिबद्धता जनाउँदै आएको छ। मध्यपूर्वमा इजरायल मात्र यस्तो राष्ट्र हो जससँग आणविक हतियार छ।
गत वर्षको जुन महिनामा इजरायल र अमेरिकाले इरानको आणविक र सैन्य अखडाहरूमा आक्रमण गर्दै धेरै वरिष्ठ कमाण्डरहरूको हत्या गरेका थिए। जेनेभा वार्तामा ओमानका मध्यस्थकर्ताहरूले प्रगति भएको घोषणा गरेपछि यो पछिल्लो तनाव सुरु भएको हो।
उक्त वार्तामा इरानले युरेनियमको भण्डारण शून्यमा झार्न र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) द्वारा पूर्ण प्रमाणीकरण गराउन सहमत भएको बताइएको थियो।
अमेरिका र इजरायल दुवैले यो इरानी नागरिकहरूका लागि आफ्नो सरकारलाई आफ्नो हातमा लिने अवसर भएको तर्क गरेका छन्। ‘हामीले हाम्रो काम सकेपछि, आफ्नो सरकारलाई आफ्नो हातमा लिनुहोस्। यो तपाईंहरूको हुनेछ। यो सायद पुस्तौंपुस्ताका लागि तपाईंहरूको एक मात्र मौका हुनेछ,’ ट्रम्पले भने।

इरानको प्रतिक्रिया के छ?
इजरायली सेनाका अनुसार इरानले सुरुमा इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेर जवाफ फर्काएको थियो। देशका विभिन्न भागहरूमा हवाई-आक्रमणको साइरन बजेको थियो र उत्तरी इजरायलमा विस्फोटका खबरहरू आएका थिए।
‘सर्वसाधारणलाई होम फ्रन्ट कमाण्डको निर्देशन पालना गर्न अनुरोध गरिन्छ,’ इजरायली सेनाले एक विज्ञप्तिमा भनेको छ, ‘यस समयमा, इजरायली वायुसेनाले सम्भावित खतराहरूलाई रोक्न र आवश्यक परेको ठाउँमा आक्रमण गर्न काम गरिरहेको छ।’
तर त्यसको लगत्तै, इरानी सेनाले यस क्षेत्रभरि अमेरिकी सैन्य कारबाहीसँग जोडिएका विभिन्न स्थानहरूमा क्षेप्यास्त्र प्रहार गर्यो, जसमा निम्न स्थानहरू समावेश छन्:
- कतारको अल उदेद एयरबेस
- कुवेतको अल-सलेम एयरबेस
- संयुक्त अरब इमिरेट्सको अल-दाफ्रा एयरबेस
- बहराइनमा रहेको अमेरिकी फिफ्थ फ्लिटको मुख्यालय
- साउदी अरबको रियादमा पनि विस्फोटको आवाज सुनिएको थियो।
- जोर्डनमा रहेका अमेरिकी अखडाहरूमा पनि आक्रमण भएको रिपोर्ट गरिएको छ।
यसअघि, इरानी संसदको राष्ट्रिय सुरक्षा आयोगका प्रमुख इब्राहिम अजिजीले कडा जवाफ दिने धम्की दिएका थिए। ‘हामीले तिमीहरूलाई चेतावनी दिएका थियौं!’ अजिजीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब तिमीहरूले यस्तो बाटो सुरु गर्नुभएको छ जसको अन्त्य अब तिमीहरूको नियन्त्रणमा छैन।’
इजरायलका नेतन्याहुले के भने?
एक विज्ञप्तिमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सैन्य कारबाही आवश्यकता अनुसार निरन्तर चल्ने बताए। उनले इजरायली अपरेशनको नाम ‘लायन्स रोअर’ राखिएको जानकारी दिए।

इरानका नेताहरू कहाँ छन्?
८६ वर्षीय सर्वोच्च नेता खामेनी मारिएको इरानको सञ्चारमाध्यमले पुष्टि गरेको छ। अमेरिकासँगको तनाव बढेसँगै उनी केही दिनयता सार्वजनिक रूपमा देखिएका थिएनन्।
राजधानीमा विस्फोटको आवाज सुनिएसँगै तेहरानको मध्यभागमा रहेको खामेनीको निवासतर्फ जाने सडकहरू अधिकारीहरूले बन्द गरेका थिए।
यसैबिच, इरानको सरकारी समाचार एजेन्सी इरनाले राष्ट्रपतिको कार्यालयको एक स्रोतलाई उद्धृत गर्दै राष्ट्रपति मसुद पेजेस्कियन सुरक्षित रहेको जनाएको छ।
विश्वको प्रतिक्रिया कस्तो छ?
- ओमान: विदेशमन्त्री बद्र अल्बुसैदीले इरान र अमेरिकाबीच आफ्नो देशको मध्यस्थतामा भइरहेको सक्रिय र गम्भीर वार्ता पछिल्लो तनावका कारण फेरि एकपटक कमजोर भएको बताए र अमेरिकालाई यसमा थप नफस्न आग्रह गरे।
- कतार: कतारले इरानी आक्रमणको निन्दा गर्दै यसलाई राष्ट्रिय सार्वभौमसत्ताको घोर उल्लङ्घन भनेको छ। साथै, अन्तर्राष्ट्रिय कानुनअनुसार जवाफ दिने अधिकार आफूसँग सुरक्षित रहेको बताएको छ।
- संयुक्त अरब इमिरेट्स (युएई): युएईले इरानी क्षेप्यास्त्र आक्रमणको निन्दा गरेको छ, जसमा एक पाकिस्तानी नागरिक मारिएको बताइएको छ। युएईले यस्ता उल्लङ्घन जारी रहे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ।
- युरोपेली संघ: युरोपेली संघकी विदेश नीति प्रमुख काजा कलासले स्थितिलाई खतरनाक भन्दै सर्वसाधारणको सुरक्षा गर्न र अन्तर्राष्ट्रिय कानुनको पालना गर्न आह्वान गरिन्।
- फ्रान्स: फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले अमेरिका, इजरायल र इरान समावेश भएको यस द्वन्द्वले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि गम्भीर परिणाम निम्त्याउने चेतावनी दिए। उनले थपे, ‘हालको तनाव सबैका लागि खतरनाक छ। यो रोकिनुपर्छ।’
- रुस: रुसको सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेभले ट्रम्पको आलोचना गर्दै वासिङ्टनले इरानसँगको वार्तालाई ‘आवरण’ को रूपमा प्रयोग गरेको आरोप लगाए र यो टकराव दीर्घकालीन रूपमा कसरी अगाडि बढ्छ भन्नेमा प्रश्न उठाए।
- बेलायत: बेलायतले इरानलाई कहिल्यै पनि आणविक हतियार विकास गर्न दिन नहुने र आफ्नो हितको रक्षा गर्न आफू तयार रहेको बताएको छ।
- क्यानडा: क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई थप खतरामा पार्न नदिने अमेरिकी प्रयासलाई आफ्नो देशले समर्थन गर्ने बताएका छन्।






















