इरानमाथिको आक्रमणले क्षेत्रीय तनाव बढ्ने संकेत


लन्डन, फागुन १६। अमेरिका र इजरायलले इरानमाथि सैन्य कारबाही गरेपछि क्रुद्ध बनेको इरानले सो क्षेत्रका अन्य देशमाथि धमाधम हवाई आक्रमण गरिरहेको छ । कतार, कुवेत, युएई, बहराइन र साउदी अरबमा रहेका अमेरिकी सेनाको शिविरमा विस्फोट सुनिएको खबर आएको छ ।
यसैबिच इरानमाथि अमेरिका–इजरायलको आक्रमणपछि क्षेत्रीय तनाव झन् बढ्ने लन्डनस्थित बौद्धिक समूह चाथाम हाउसकी मध्यपूर्व तथा उत्तर अफ्रिका कार्यक्रमकी निर्देशक सनम वाकिलले जानकारी दिएकी छिन् ।
इरान आफ्नो अस्तित्वका लागि लडिरहेको पनि वाकिलले बताएकी छन् । यस्तो परिस्थितिमा इरानको एक मात्र विकल्प छिटो प्रतिकार गर्नु र युद्धलाई सो क्षेत्रभर फैलाउने प्रयास गर्नु हुनसक्ने उनले बताइन् ।
इरानले युद्धको असर तेहरानमा मात्र सीमित नराखी पूरै मध्यपूर्वमा फैलाउने रणनीति अपनाउन सक्ने र यसले क्षेत्रीय अस्थिरता अझ तीव्र हुने जोखिम बढाएको उनले बताइन् ।






















