१० सञ्चारकर्मी र मातृभाषाका दुई वटा पत्रिकालाई फोनिज अवार्ड


काठमाडौ । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले बुधबार २२औं स्थापना दिवस मनाएको छ । सो अवसरमा १० जना सञ्चारकर्मी र मातृभाषाका दुई वटा पत्रिकालाई आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार (फोनिज अवार्ड) प्रदान गरेको छ ।
फोनिजको २२औं स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित समारोहमा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले अवार्ड वितरण गरेका हुन् । अवार्ड प्राप्त गर्नेमा कुमार यात्रु, सन्त गाहामगर, भवानी बराल, रचना श्रेष्ठ, राजकुमार दिक्पाल, टेकराज थामी, आङदावा शेर्पा, तिलक पुन, इन्द्रजित मुखिया र मौसम रोक्का रहेका छन् ।
आदिवासी/जनजाति मुद्दामा कलम चलाउने बराल प्रेस काउन्सिलका पूर्वअध्यक्षसमेत हुन् । गाहा मगर र थामीले क्रमशः फोनिज युके सम्मान र पुरस्कार प्राप्त गरेका हुन् । फोनिजले यो वर्षदेखि शुरु गरेको मातृभाषा पत्रकारिता पुरस्कार तान्छोक्पा मासिक (लिम्बु) र पहुरा दैनिक (थारु)ले पाएका छन् ।
फोनिजमा मगर, गुरुङ, किराँत राई, लिम्बु, तामाङ, थारु, शेर्पा, नेवारलगायत जातीय पत्रकार संस्थाहरु आवद्ध छन् ।






















