लुम्बिनीमा नयाँ सरकार, माओवादीका कुलप्रसाद केसी मुख्यमन्त्री बन्दै


बुटवल । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसामु आज विपक्षी गठबन्धनले दाबी पेस गर्दै छ ।
मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले दलहरूलाई सरकारमा दाबी पेस गर्न आज दिउँसो तीन बजेसम्मको समय दिएका छन् । कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धनले आज सरकारको नेतृत्वमा दाबी पेस गर्ने लुम्बिनी कांग्रेसका प्रमुख सचेतक फकरुद्दीन खानले बताए ।
विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्रीको रूपमा अघि सारेको छ । यता एमालेले भने दाबी पेस नगर्ने बताएको छ । कांग्रेस र माओवादीबीच आठ-आठ महिना सरकारको नेतृत्व गर्ने सहमति छ ।संविधानको धारा १६८ को उपधारा (२) अनुसार ४ दलको समर्थनमा माओवादी केन्द्रका नेता केसी ‘साेनाम’ लाई मुख्यमन्त्रीमा अघि सारिएकाे खानले बताए ।
प्रदेशसभामा हाल ८० सांसद बहाल रहेकोमा बहुमतका लागि ४१ सिट आवश्यक हुन्छ । ४ दलीय गठबन्धनमा कांग्रेसका १९, माओवादीका १८, जसपाका ३ र जनमोर्चाका १ गरी ४१ सांसद छन् । यीमध्ये कुनै सांसद कतै नमाेडिए माओवादी नेता केसी नयाँ मुख्यमन्त्री बन्नेछन् । र, गठबन्धनले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेको छ । विश्वासको मत पाएपछि मात्र मन्त्रिमण्डल पूर्ण विस्तार गर्ने गठबन्धनले जनाएको छ ।






















