देश

बाघबाट बाख्रा जोगाउन रातभर जाग्राम बस्दै

जगत ठाडा मगर
२०७७ अशोज २७ | बिहान ११:०६ बजे

शुक्लाफाँटा नगरपालिका–८ धारापानीमा दिउँसै बाघले बाख्रा खान थालेपछि स्थानीयवासी चिन्तित भएका छन् ।

बाख्रा चराउनका लागि वन क्षेत्रमा लैजाँदा र गोठमै राखेका बाख्रा पनि बाघले खान थालेपछि स्थानीयवासी चिन्तित भएका हुन् । तीन दिनको अवधिमै स्थानीयवासीले पालेका १० भन्दा बढी बाख्रा बाघले खाइसकेको छ । वन संरक्षणमा जोड दिइएपछि बाघ आउन थालेको हो । दुई दिनको अवधिमै बाघले स्थानीयवासी साइमले धामीका मात्रै छ वटा बाख्रा मारेर खाएको छ ।

“दुई बाख्रा वन क्षेत्रमा चराउन लगेको बेला बाघले खाइदियो”, उहाँले भन्नुभयो, “चारवटा बाख्रा खोरमै रहेका बेला खाइदिएको छ । बस्तीमै बाघ आउन थालेपछि बाख्रालगायत अन्य घरपालुवा जनावर जोगाउनका लागि रातभर जाग्राम बस्नुपरेको छ ।”

गाउँ नजिकैको डाँडाबाटै बाघ गर्जेको आवाज दैनिक सुनिन थालेको छ । बाघको आवाज आउन थालेपछि गाउँका सबै जना घरघरबाट निस्केर बाख्रा जोगाउनका लागि होहल्ला गर्ने र आगो बालेर तर्साउने काममा लागेको धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “सावधानी अपनाउँदा अपनाउँदै पनि खोरबाटै बाख्रा लगेको पत्तो नै लाग्दैन, बाघले निकै तर्साएको छ ।”

“कहिल्यै पनि बाघ बस्ती र नजिकका वन क्षेत्रमा देखिएको थिएन”, रमेश धामीले भन्नुभयो, “तीन दिनदेखि दैनिक बाघ बस्तीमै पुग्न थालेपछि डरका कारण साँझ नहँुदै बालबालिकालाई घरभित्रै राख्नुपरेको छ ।” मानवीय क्षति हुन नदिन र बाख्रालगायत घरपालुवा जनावर जोगाउन पालैपालो जाग्राम बसेर आगो बाली होहल्ला गरेर बस्नुपरेको स्थानीयवासी दुखेसो पोख्छन् ।

स्थानीयवासी दिउँसो वन क्षेत्रमा बाख्रा, गाई, गोरु चराउन जानसमेत बाघकै डरले बन्द गरेका छन् । दाउरा र मेलापात जाँदासमेत समूहमा जाने गरेको प्रितम धानुकले बताउनुभयो ।

कमेन्टहरु