गुल्मीमा चट्याङ्ग लागेर घाइते भएका थप एक महिलाको मृत्यु


पाल्पा । गएराति गुल्मीमा चट्याङ्ग लागेर घाइते भएका थप एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका–२ पाटाखर्क निवासी २८ बर्षीया कमला पर्तेलको मृत्यु भएको हो ।
राती मोबाइल चार्ज गर्ने क्रममा चट्याङ्ग लागेर गम्भीर घाइते भएकी कमलाको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो । डिएसपी पाण्डेका अनुसार हिजो नै इस्मा गाउँपालिकाका ११ बर्षीय बालक राहुल गन्दर्भ सहित दुई जनाको मृत्यु भएको थियो ।
पाण्डेका अनुसार हिजो साँझ इस्मा गाउँपालिका–४ दोहोली कुखुरिकाच्यानाका ११ बर्षीय बालक राहुल गन्दर्भ चट्याङ्ग लागेर गम्भीर घाइते भई उपचारका लागि सदरमुकाम जिल्ला अस्पतालमा लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।
उनीसँगै गम्भीर घाइते भएका उनका बाबु रामबहादुर गन्दर्भ, सोही वडा मालारानी गाउँकी २५ बर्षीया रुपा नेपाली र उनका भानिज ११ बर्षीय किस्मत नेपालीलाई जिल्ला अस्पताल तम्घासबाट उपचारका लागि गएराती नै पाल्पा पठाइएको छ ।
चट्याङ्ग लागेर थप घाइते त्यसै वडाका ढाँडा गाउँकी १७ बर्षीया राधा खत्री, २३ बर्षीया गोमा खत्री र ३१ बर्षीया शर्मिला खत्रीको स्थानीय स्वास्थ्य केन्द्र मै उपचार भइरहेको प्रहरीले जनाएको छ ।






















