पूर्व आईजीपीदेखि संसदसम्म: नवलपरासी–२ मा प्रधान ‘ पुनः जनअनुमोदित हुने दाउमा’


नवलपरासी । नेपाल प्रहरीको उच्च कमान्ड सम्हालेर अवकाश पाएका व्यक्तिहरू प्रायः सल्लाहकार वा कूटनीतिक भूमिकामा सीमित हुने गर्छन्। तर, पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधानको हकमा भने कथा फरक छ। सुरक्षा निकायको सफल नेतृत्वपछि राष्ट्रिय राजनीतिमा एक कुशल पात्रका रूपमा स्थापित प्रधान यतिबेला पश्चिम नवलपरासी क्षेत्र नं. २ बाट पुनः जनअनुमोदित हुन चुनावी मैदानमा उत्रनुभएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष समेत रहनुभएका प्रधानले यसपटक आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि ‘ नवलपरासी विशेष’ प्रतिबद्धता पत्र सहीत मतदाताको घरदैलोमा पुग्नुभएको छ।
प्रधान वि.सं. २०७९ सालको आम निर्वाचनमा प्रधानले यसै क्षेत्रबाट ३४,७६४ मत प्राप्त गरी विजयी हुनुभएको थियो। सो जितलाई नवलपरासीको राजनीतिमा ‘ऐतिहासिक मोड’ मानिन्छ। यसपटक उहाँले विगतमा सुरु भएका अधुरा कामहरू पूरा गर्ने। कृषि प्रधान क्षेत्र भएकाले समयमै मलखाद र सिँचाइको सुनिश्चितता गर्ने। स्थानीय खोलाहरूबाट हुने क्षति रोक्न दीर्घकालीन पूर्वाधार निर्माण गर्ने प्रतिबद्धताहरू अघि सार्नुभएको छ ।
नेतृत्व: सुरक्षादेखि खेलकुदसम्म
प्रधानको पहिचान केवल एउटा राजनीतिज्ञमा मात्र सीमित छैन। उहाँको व्यावसायिक र सामाजिक पृष्ठभूमि निकै गहिरो र गौरवपूर्ण छ । सुरक्षा निकायको नेतृत्व: नेपाल प्रहरीको पूर्व महानिरीक्षकको रूपमा संगठनको सफल नेतृत्व गर्नुभएका प्रधानलाई एक निडर, व्यावसायिक र इमानदार अधिकृतका रूपमा सम्मान गरिन्छ।खेलकुद जगतको नेतृत्व: उहाँले नेपाल ओलम्पिक कमिटीको अध्यक्षको रूपमा नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्दै महत्त्वपूर्ण नेतृत्व प्रदान गरिसक्नुभएको छ ।
सुरक्षा निकायमा रहँदाको लामो अनुभवले गर्दा आम नागरिकले उहाँमाथि शान्ति सुरक्षा र विधिको शासन स्थापना गर्ने कुरामा ठूलो भरोसा राखेका छन्। यद्यपि, मतदाताका बहुआयामिक अपेक्षाहरू पूरा गर्नु र परम्परागत राजनीतिक शक्तिहरूको बीचमा आफ्नो फरक पहिचान जोगाइराख्नु उहाँका लागि अवसर र चुनौती दुवै हुन्।






















