देश

कपिलवस्तुका २३६ मतदान स्थल र ४९१ मतदान केन्द्रको निरीक्षण

नवलपुर टुडे
२०८२ फाल्गुन १४ | मध्यान्ह ०३:११ बजे

कपिलवस्तु, फाल्गुन १४ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन कपिलवस्तुमा रहेको सबै मतदान स्थल र मतदान केन्द्रको निरीक्षण गरिएको छ । जिल्ला सुरक्षा समिति र कपिलवस्तुका ३ वटै निर्वाचन अधिकृतसहितको संयुत्त टोली सो निरीक्षण गरेको हो ।

टोलीले २ सय ३६ मतदान स्थलका ४ सय ९१ मतदान केन्द्रको निरीक्षण गरेको प्रहरी उपरीक्षक सन्तोष आचार्यले बताए । अनुगमनका क्रममा मतदान स्थलको भौतिक अवस्था, सुरक्षाको व्यवस्था, मतदान कक्ष व्यवस्थापन, मतदाताको सहज पहुँच तथा आवश्यक पूर्वाधारबारे जानकारी लिइएको आचार्यले बताए । मतदान स्थलको अवस्था बारे जिल्ला निर्वाचन कार्यालय र ३ वटै निर्वाचन अधिकृतको कार्यालयलाई लिखितरुपमै जानकारी गराई सकिएको उनले बताए ।

धेरै जसो मतदान स्थल र केन्द्र विद्यालयमै छन । ८ वटा बढी मतदान केन्द्रमा छेका समेत नरहेको बताइएको छ । प्रमुख जिल्ला अधिकारी गौतमले निर्वाचनलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताए । मतदानका दिन कुनै पनि किसिमको अवाञ्छित गतिविधि हुन नदिन प्रशासन सतर्क र सजग रहेको बताए । ‘मतदान स्थलहरूमा आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको छ, मतदातालाई निर्धक्क भएर मतदान गर्न आग्रह गर्दछु ’ उनले भने । मतदान स्थललाई सुरक्षा निकायले निग्रानीमा राखेको उनले बताए । ५४ मतदान स्थललाई अति संवेदनशील, १ सय २ लाई संवेदनशील र ७९ मतदान स्थललाई सामान्यको सुचीमा राखिएको छ उनले बताए ।

निर्वाचनमा ५ हजार बढी सुरक्षाकर्मी परिचालन गरिने उनले बताए । निर्वाचनका नेपाली सेनाले समेत नियमित गस्ती गरिरहेका छन । शान्तिपूर्ण वातावरण कायम राख्न सबै पक्षसँग समन्वय भइरहेको उनले बताए ।  उनले निर्वाचनकालागि भरपर्दो सुरक्षा ब्यवस्था मिलाइएकोले ढुक्कसँग मतदान गर्न प्रजिअ गौतमले आग्रह समेत गरे ।

कमेन्टहरु