देश

९ लाख सक्रिय कार्यकर्ताको ईच्छाविपरीत निर्णय नगर्न केन्द्रीय समितिलाई महरको आग्रह

जगत ठाडा मगर
२०७८ साउन २८ | बिहान ०९:०४ बजे

काठमाडौं । नेपाली काँग्रेसका नेता नैनसिंह महरले वैधानिक समय सीमाभित्र महाधिवेशन गराउन अब युवाहरुले नै नेतृत्वलाई दबाब दिने वेला आएको बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा सञ्जालले आयोजना गरेको भर्चुअल कार्यक्रम युवा नेता महरले विहीबार बस्न लागेको महाधिवेशन केन्द्रित केन्द्रीय कार्यसमितिको बैठकलाई ९ लाख सक्रिय कार्यकर्ताको ईच्छाविरुद्ध गएर मनपरी नगर्न आग्रह गरेका हुन् ।

केन्द्रीय समिति मात्रै सम्पूर्ण काँग्रेस नभएकाले ९ लाख सक्रिय नेता कार्यकर्ताको हित प्रतिकुल हुने गरि निर्णय नगर्न नेता महरको आग्रह छ । केन्द्रीय समितिले आफ्नो साढे ५ वर्षको कार्यकाल गुट–उपगुट र भागबण्डामा समय गुजारेकाले पार्टीको महाधिवेशन समयमै सम्पन्न गर्न अप्ठ्यारो भइरहेको महरको भनाइ छ ।

नेविसंघको पूर्व अध्यक्ष समेत रहेका उनले महाधिवेशन फास्ट ट्रयाकबाटै भएपनि समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए । कुल जनसंख्याको ४० प्रतिशत बढी युवा हुनु मुलुकका लागि राम्रो कुरा भएको बताउँदै अब राजनीतिक दल र राज्यका हरेक ठाउँमा युवाको हस्तक्षेपकारी भूमिका हुनुपर्ने महरले बताए ।

यस्तै उनले कोरोना महामारीका कारण रोजगारीका लागि विदेशीयका ४ लाख ५२ हजार बढी नेपाली स्वदेश फिर्ता भएको र स्वदेशमै पनि ३५ लाख बढीले रोजगारी गुमाउँदाको प्रभाव बहुसंख्यक युवामा परेको उनले बताए ।

उनीहरुको उचित व्यवस्थापन गर्नुपर्ने महरको माग रहेको छ । यस्तै कोरोनाको तेस्रो लहरको उच्च जोखिममा बालबालिका रहेकाले उनीहरुलाई जोगाउनका लागि गम्भीर भएर लाग्न सरकारलाई महरले सुझाव दिए।

कमेन्टहरु