प्रबास

पत्रकार हत्यामा इजरायल सबैभन्दा अगाडि

एजेन्सी
२०८२ फाल्गुन १४ | बिहान ११:११ बजे

वासिङ्टन डीसी । मिडिया स्वतन्त्रतामाथि निगरानी राख्ने संस्था कमिटी टु प्रोटेक्ट जर्नलिस्ट (सीपीजे)ले सन् २०२५ पत्रकारका लागि अहिलेसम्मकै सबैभन्दा घातक वर्ष बनेको जनाएको छ।बुधबार सार्वजनिक वार्षिक प्रतिवेदनअनुसार इजरायलका सैन्य कारबाहीमा कम्तीमा ८४ मिडियाकर्मी र पत्रकार मारिएका छन् । यो अन्य कुनै पनि देशको तुलनामा धेरै हो।

सीपीजेका अनुसार विश्वभर पत्रकार मृत्युको कुल सङ्ख्यामा इजरायल दुई-तिहाइभन्दा बढीका लागि जिम्मेवार देखिएको छ। संस्थाले इजरायली सेनामा “पत्रकारमाथि आक्रमणबारे दण्डहीनताको स्थायी संस्कृति” रहेको आरोप लगाएको छ। प्रतिवेदनले विश्वभर भएका ४७ घातक घटनामध्ये ३८ घटनालाई इजरायलसँग जोड्दै तीलाई लक्षित हत्याको श्रेणीमा राखेको जनाएको छ।

 

मारिएका अधिकांश पत्रकार प्यालेस्टिनी मूलका रहेको सीपीजेले उल्लेख गरेको छ। साथै इजरायली हवाई आक्रमणका क्रममा यमनका पत्रिका कार्यालयमा कार्यरत ३१ कर्मचारी पनि मारिएको प्रतिवेदनमा भनिएको छ।

 

सीपीजेले सन् १९९२ देखि अभिलेख राख्न थालेयता कुनै पनि सरकारले यति ठूलो सङ्ख्यामा पत्रकार मारेको यो पहिलो पटक भएको दाबी गरेको छ। संस्थाले गाजा क्षेत्रमा कडा प्रेस प्रतिबन्ध र मानवीय संकटका कारण स्वतन्त्र अनुसन्धान गर्न कठिन भएको पनि औंल्याएको छ।

 

“समकालीन प्रमाणहरू नष्ट भइसकेकाले गाजामा इजरायलद्वारा जानाजानी लक्षित गरिएका प्यालेस्टिनी पत्रकारको वास्तविक संख्या कहिल्यै पूर्ण रूपमा थाहा नहुन सक्छ,” सीपीजेको वक्तव्यमा भनिएको छ। 

 

इजरायलले भने विगतमा आफ्ना सैन्य कारबाहीहरू सशस्त्र समूहविरुद्ध लक्षित रहेको दाबी गर्दै आएको छ।

कमेन्टहरु