समाचार

निर्वाचनलाई लक्षित गर्दै रौतहटमा फागुन १८ देखि मदिरा बिक्री–वितरण निषेध

नवलपुर टुडे
२०८२ फाल्गुन १४ | बिहान ०७:११ बजे
 

रौतहट । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रौतहट जिल्लामा मदिरा बिक्री–वितरण तथा सार्वजनिक स्थानमा मदिरा सेवन पूर्ण रूपमा निषेध गरिएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयमुक्त वातावरणमा शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यसहित उक्त आदेश जारी गरेको हो।

सिडिओ दिनेश सागर भुसालद्वारा बुधवार जारी सूचनाअनुसार यही फागुन १८ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म जिल्लाभर सबै प्रकारका मदिराजन्य पदार्थको बिक्री–वितरण र सार्वजनिक स्थानमा सेवन निषेध गरिएको छ। सूचनामा निषेधाज्ञा उल्लङ्घन गरी मदिरा बिक्री, वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ।

साथै, सुरक्षा निकायमार्फत कडाइका साथ अनुगमन गरिने पनि प्रशासनले जनाएको छ। निर्वाचनको समयमा सार्वजनिक शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्न चालिएको यस कदममा होटल व्यवसायी, राजनीतिक दल, नागरिक समाज तथा आम सर्वसाधारणबाट पूर्ण सहयोगको अपेक्षा गरिएको जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख गरिएको  छ।

1000484245

 

कमेन्टहरु