स्वास्थ्य

महिनावारीमा कालो रगत आउनु कति सामान्य, कति खतरा ?

एजेन्सी
२०८२ फाल्गुन १३ | मध्यान्ह ०५:११ बजे

काठमाडाैँ । सामान्यतया महिनावारीको रगत रातो वा गाढा रातो हुन्छ। तर, कहिलेकाहीँ रगत कालो वा खैरो देखिँदा धेरै महिलाहरूमा चिन्ता र डर पैदा हुने गर्छ। के यो सामान्य हो वा कुनै स्वास्थ्य समस्याको संकेत हो त?

स्वास्थ्य विज्ञहरूका अनुसार महिनावारीको रगतको रङ शरीरभित्र हुने प्रक्रिया, हर्मोन र रगत बग्ने गतिमा निर्भर हुन्छ।

महिनावारीको रगत कालो किन देखिन्छ ?

 

रगत लामो समयसम्म गर्भाशय वा योनीभित्र बसेर अक्सिजनको सम्पर्कमा आउँदा यसको रङ गाढा वा कालो हुन्छ। यसलाई विज्ञानको भाषामा ‘अक्सिडाइज्ड ब्लड’ भनिन्छ। धेरैजसो अवस्थामा महिनावारी सुरु हुने पहिलो दिन वा अन्तिम दिनतिर यस्तो रङ देखिनु सामान्य भएको स्वास्थ्य विज्ञहरूले बताएका छन्। तर, लगातार कालो रगत मात्रै देखिइरहेमा भने डाक्टरसँग परामर्श गर्नुपर्ने विज्ञहरूको भनाइ छ।

 

विज्ञहरूका अनुसार निम्न अवस्थामा महिनावारीको रगत कालो देखिन सक्छः

 
  • रगत बग्ने गति ढिलो हुँदा।
  • कम फ्लोका कारण रगत गर्भाशयमा लामो समय अड्किँदा।
  • शरीरमा हर्मोनको असन्तुलन हुँदा।
  • महिनावारी ढिलो गरी हुँदा।

कालो रगत आउनुलाई सामान्य मान्ने कि खतरा ?

 

एक–दुई दिन कालो रगत देखिनु सामान्य हुन सक्छ। तर, निम्न लक्षण देखिएमा तुरुन्त डाक्टरलाई देखाउनुपर्ने विज्ञको सुझाव छः

  • लगातार कालो रगत बगिरहनु।
  • योनीबाट दुर्गन्ध आउनु।
  • महिनावारीका बेला असामान्य रूपमा पेट दुख्नु।
  • असामान्य डिस्चार्ज हुनु।

यी लक्षणहरू गर्भाशयको भित्री तहमा समस्या भएको, कुनै ब्लकेज भएको वा संक्रमण भएको संकेत हुन सक्छन्।

कालो रगतसँगै रगतका ढिक्का किन देखिन्छन् ?

कालो रगतसँगै ढिक्का देखिनुको अर्थ रगत लामो समयसम्म गर्भाशयमा बसेर डल्ला परेको हो। धेरै ब्लिडिङ हुने बेला वा अनियमित महिनावारी भएको बेला यस्तो हुनु सामान्य मान्न सकिन्छ।

तर, यो समस्या लगातार रह्यो भने गर्भाशयमा गाँठो, हर्मोनको समस्या वा गर्भाशयको भित्री तहको असामान्यता हुन सक्छ। धेरै दुखाइ, कमजोरी र अत्यधिक ब्लिडिङ भयो भने तुरुन्त प्रसूति तथा स्त्रीरोग विशेषज्ञलाई देखाउनुपर्छ।

के यो कुनै संक्रमण वा रोगको संकेत हो ?

लगातार कालो रगत देखिनु पेल्भिक संक्रमण, यौन सम्पर्कबाट सर्ने संक्रमण वा योनी संक्रमणको संकेत पनि हुन सक्छ। यदि कालो रगतसँगै दुर्गन्ध आउने, पेटको तल्लो भाग दुख्ने र असामान्य डिस्चार्ज देखियो भने गर्भाशयको भित्री तहमा संक्रमण भएको बुझ्नुपर्छ।

हर्मोन असन्तुलन वा पीसीओएस भएको अवस्थामा महिलाको ओभुलेसन अनियमित हुन्छ। यसले गर्दा महिनावारी ढिलो हुने, फ्लो अनियमित हुने र धेरै क्लोट्स आउने हुन सक्छ, जसका कारण रगत कालो देखिन्छ।

के गर्भपतन हुँदा पनि कालो रगत देखिन सक्छ ?

सुरुआती वा अधूरो गर्भपतनको अवस्थामा रगत र टिस्यु लामो समय गर्भाशयमा अड्किएर बाहिर निस्कँदा रगत कालो देखिन सक्छ। यस्तो अवस्थामा बेस्सरी पेट दुख्ने, अत्यधिक ब्लिडिङ हुने, टिस्युजस्ता क्लोट्स आउने र कमजोरी महसुस हुने हुन्छ। गर्भवती महिलामा यस्ता लक्षण देखिएमा तुरुन्त डाक्टरसँग सम्पर्क गर्नुपर्छ।

रगतको रङले सीधै प्रजनन् क्षमता कस्तो छ भनेर बताउँदैन। तर, यसले हर्मोनको सन्तुलन र गर्भाशयको स्वास्थ्यको बारेमा संकेत दिन्छ, जसले कालान्तरमा प्रजनन् क्षमतामा असर पार्न सक्छ। तसर्थ, अस्वाभाविक परिवर्तन महसुस हुनासाथ चिकित्सकीय सल्लाह लिनु नै उत्तम हुन्छ।

कमेन्टहरु