५ हजार वर्ष पुरानो बरफमा भेटियो शक्तिशाली ब्याक्टेरिया, आधुनिक औषधिले पनि नछुने


काठमाडाैँ । रोमानियाको स्कारिसोरा गुफाको गहिराइमा रहेको १३ हजार वर्ष पुरानो विशाल भूमिगत हिमनदी (ग्लेसियर) भित्र वैज्ञानिकहरूले एउटा यस्तो ब्याक्टेरिया फेला पारेका छन्, जसले आधुनिक चिकित्सा विज्ञानलाई नै चुनौती दिएको छ।
अनुसन्धानकर्ताहरूले उत्खनन गरी निकालेको ५ हजार वर्ष पुरानो बरफको टुक्राभित्र जमेर बसेको ‘साइक्रोब्याक्टर क्ऋ६५ब्.३’ नामक ब्याक्टेरियालाई पगालेर परीक्षण गर्दा त्यसले हाल प्रयोगमा रहेका १० प्रकारका आधुनिक एन्टिबायोटिकलाई समेत माथ दिएको पाइएको हो।
रोमानियन एकेडेमीको इन्स्टिच्युट अफ बायोलोजीका वरिष्ठ वैज्ञानिक क्रिस्टिना पुर्कारियाका अनुसार यो ब्याक्टेरियाले क्षयरोग र मूत्रमार्गको संक्रमण (यूटीआई) जस्ता रोगको उपचारमा प्रयोग हुने आधुनिक औषधिहरूलाई समेत निष्प्रभावी बनाइदिएको छ। तर, यो ब्याक्टेरियाले मानिसलाई भने संक्रमित तुल्याउँदैन।
‘साइक्रोब्याक्टर’ प्रजाति चिसो वातावरणमा मात्र जीवित रहन सक्ने र मानव शरीरको तापक्रममा टिक्न नसक्ने भएकाले यसबाट तत्काल कुनै खतरा नरहेको वैज्ञानिकहरूको भनाइ छ। वैज्ञानिकहरूले २५ मिटर गहिरो बरफको सिलिन्डर खनेर यो नमुना निकालेका थिए।
फ्रन्टियर्स इन माइक्रोबायोलोजी जर्नलमा प्रकाशित यस अध्ययनले एन्टिबायोटिक प्रतिरोध मानव निर्मित औषधिहरू विकास हुनुभन्दा लाखौँ वर्षअघिदेखि नै प्रकृतिमा अस्तित्वमा रहेको प्रमाणित गरिदिएको छ। सूक्ष्मजीवहरूका बिचमा बाँच्नका लागि हुने प्रतिस्पर्धाका कारण उनीहरूले आफैँभित्र यस्तो प्रतिरोधी क्षमता विकास गरेका हुन्। वैज्ञानिक पुर्कारियाका अनुसार प्राचीन ब्याक्टेरियाले आधुनिक औषधिसँग लड्न सक्ने क्षमता राख्नुको कारण उनीहरूले लाखौँ वर्षदेखि डीएनएको आदानप्रदान गरी विकास गरेको विकासवादी हतियार हो।
यस अनुसन्धानले जलवायु परिवर्तनका कारण पग्लिँदै गएका हिमनदीहरूबाट हजारौँ वर्षदेखि सुसुप्त अवस्थामा रहेका सूक्ष्मजीवहरू बाहिर निस्कन सक्ने र त्यसले वर्तमान पारिस्थितिक प्रणालीमा प्रभाव पार्न सक्ने खतराप्रति सचेत गराएको छ। तर, यो खोजले अर्कोतर्फ आशाको किरण पनि देखाएको छ।
साइक्रोब्याक्टर क्ऋ६५ब्.३ को आनुवंशिक संरचना विश्लेषण गर्दा यसमा ११ वटा यस्ता जीनहरू फेला परेका छन्, जसले अन्य हानिकारक ब्याक्टेरिया, भाइरस र फङ्गसलाई मार्न वा रोक्न सक्छन्। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार वार्षिक करिब ५० लाख मानिसको मृत्यु एन्टीबायोटिक प्रतिरोधसँग जोडिएको छ। यस्तो अवस्थामा यी प्राचीन सूक्ष्मजीवहरूबाट भविष्यमा नयाँ र शक्तिशाली औषधिहरू बनाउन सकिने वैज्ञानिकहरूको विश्वास छ।






















