भारतले ठुला फ्रान्सेली लगानीकर्ताका लागि घटायो लाभांश कर


काठमाडौँ । भारत र फ्रान्सले करिब तीन दशक पुरानो द्विपक्षीय कर सम्झौता संशोधन गरेका छन् । संशोधनसँगै भारतले ठुला फ्रान्सेली लगानीकर्ताका लागि लाभांश कर घटाउने निर्णय गरेका छन् । भारतको वित्त मन्त्रालयले सोमबार सार्वजनिक गरेको संशोधित प्रावधान अनुसार नयाँ व्यवस्था लागू भएपछि दुवै देशबिच लगानी र व्यापार सहयोग थप विस्तार हुने अपेक्षा गरिएको छ ।
संशोधित सम्झौताअनुसार भारतीय कम्पनीमा कम्तीमा १० प्रतिशत शेयर हिस्सा हुने फ्रान्सेली लगानीकर्ताले अब लाभांशमा ५ प्रतिशत मात्र कर तिरे हुनेछ । यस अघि यो कर १० प्रतिशत थियो । तर १० प्रतिशतभन्दा कम हिस्सा भएका लगानीकर्ताका लागि लाभांश कर भने १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याइएको छ ।
यस परिवर्तनबाट भारतमा आफ्नो व्यवसाय विस्तार गरिरहेका सानोफी, रेनो, लोरियाललगायत प्रमुख फ्रान्सेली कम्पनीहरू लाभान्वित हुने अनुमान गरिएको छ । नयाँ प्रावधानले दिल्लीलाई केही शेयर बिक्रीबाट हुने पूँजीगत नाफामा कर लगाउने अधिकार पनि दिएको छ, चाहे फ्रान्सेली संस्थाको स्वामित्व १० प्रतिशतभन्दा कम किन नहोस् ।
सम्झौताबाट ‘मोस्ट फेवर्ड नेसन’ (एमएफएन)को धारा पनि हटाइएको छ । यस धारा अन्तर्गत ओईसीडी सदस्य देशहरूले भारतले अन्य कुनै सदस्यलाई कम दर दिएको अवस्थामा स्वतः सोही सुविधा दाबी गर्न सक्थे । तर सन २०२३ मा भारतको सर्वोच्च अदालतले यस्तो सुविधा स्वतः लागू नहुने फैसला सुनाएको थियो ।
गत साता दिल्ली भ्रमणमा आएका फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भएको भेटपछि संशोधन विवरण सार्वजनिक गरिएको हो । दुवै देशले आफ्नो सम्बन्धलाई विशेष विश्वव्यापी रणनीतिक साझेदारीमा उकास्ने घोषणा गरेका थिए ।
रोयटर्सले उद्धृत गरेको तथ्याङ्कअनुसार जनवरी २०२६ सम्म फ्रान्सस्थित विदेशी पोर्टफोलियो लगानीकर्ताले भारतीय कम्पनीहरूमा करिब २१ अर्ब डलर बराबरको सेयर होल्डिङ राखेका छन् ।
गत वर्ष द्विपक्षीय व्यापार करिब १५ अर्ब डलर पुगेको थियो । विशेषज्ञ संस्था केपीएमजीका अनुसार संशोधित सम्झौताले भारतको कर आधार सुरक्षित गर्दै लगानी वातावरणलाई स्थिर बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।






















