देश

डोरीले बाँधेर युवक कुट्ने जाजरकोटका वडाध्यक्ष पाँच हजार धरौटीमा छुटे

जगत ठाडा मगर
२०७८ साउन २८ | बिहान ०८:०४ बजे

सुर्खेत । डोरीले बाँधेर युवकलाई कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गाउँपालिका-२ का वडाध्यक्ष रामबहादुर नेपाली धरौटीमा छुटेका छन् ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटले वडाध्यक्ष नेपालीलाई जम्मा पाँच हजार धरौटीमा छोड्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए । पीडितको बयानका आधारमा पाँच हजार रुपैयाँ धरौटीमा छोडिएको प्रमुख जिल्ला अधिकारी देवकोटाले बताए ।

उनले भने ‘भिडियोको आधारमा अभद्र व्यवहार सम्बन्धी मुद्दा चलाइएको थियो तर पीडितले नै वडाध्यक्षको गल्ती नभएको बयान दिए, गलत नियत नभेटिएपछि धरौटीमा छोडिएको छ,’ । देवकोटाका अनुसार वडाध्यक्ष नेपालीलाई भदौ १६ गते बकपत्र गर्न आउने सर्तमा धरौटीमा छोडिएको हो ।

साउन १५ गते स्थानीय सर्पे दमाइलाई डोरीले बाँधेर कुटपिट गरेका वडाध्यक्ष नेपालीलाई साउन २१ गते प्रहरीले पक्राउ गरेको थियो । वडाध्यक्ष नेपालीले सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।

सेवाग्राहीलाई अपमानजनक रुपमा कुटपिट गरेको भन्दै वडाध्यक्षको चौतर्फी विरोध भएको थियो ।

कमेन्टहरु