देश

विद्युत प्राधिकरणमा दोस्रो इनिङ स्वीकार गर्नु जीवनकै ठूलो चुनौती : कुलमान घिसिङ

जगत ठाडा मगर
२०७८ साउन २८ | बिहान ०८:०४ बजे

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको चार वर्षे कार्यकाल सकाएर भदौ २०७७ मा विदा भएका कुलमान घिसिङले ११ महिनापछि फेरि कार्यकारी निर्देशकमा पुनःनियुक्ति पाउदा दोस्रो इनिङ आफ्नो जीवनकै ठूलो चुनौती भएको बताएका छन् ।

बुधबार प्राधिकरणको कार्यकारी निर्देशकको पदभार ग्रहण गरेका घिसिङले भने, ‘दोस्रो इनिङ स्वीकार गरेर मैले ठूलो चुनौती स्वीकार गरेको छु । यो मेरो जीवनकै सबभन्दा ठूलो चुनौती जस्तो लाग्छ ।’ व्यक्तिगत रुपमा दोहोरिनै पर्छ भन्ने मत नभएपनि विद्युत प्राधिकरणको आवश्यकता, सरकारको निर्णयका साथै जनअपेक्षाका कारण यो चुनौती स्वीकार गरेको उनले बताए ।

घिसिङले निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अघि बढाएका राम्रा कामलाई निरन्तरता दिइने बताए । प्राधिकरणका कुनै काम गलत बाटोमा गएको भए सच्याउने भन्दै कार्यकारी निर्देशक घिसिङले भने, ‘कसैको विरोध गर्ने भन्दा पनि विद्युत प्राधिकरणलाई कसरी अगाडि बढाउने भन्नेमा ध्यान दिन्छौं ।’

सरकारले शाक्यलाई उर्जा आयोगको सचिवमा सम्मानजनक पदभार सुम्पेको उनको धारणा छ ।

कमेन्टहरु