समाचार

गौरमा शान्ति र सद्भावका लागि र्‍याली, कर्फ्यु हटाइयो

नवलपुर टुडे
२०८२ फाल्गुन ११ | बिहान ०९:११ बजे

रौतहट । रौतहटको गौर नगरपालिका–६ सबगढामा नागरिक समाजको अगुवाइमा शान्ति र सद्भाव कायम गर्ने उद्देश्यले एक र्‍याली निकालिएको छ। सबगढाको मुख्य सडकबाट सुरु भएको उक्त र्‍यालीले हालैको तनावबाट प्रभावित गाउँका विभिन्न भागको परिक्रमा गरेको थियो।

गाउँमा दिगो शान्ति र आपसी भाइचारा कायम राख्नका लागि यस पहलमा राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय बासिन्दा तथा प्रशासनको समेत सक्रिय सहभागिता रहेको थियो। दुई समुदायबीचको विवाद चर्किएपछि उत्पन्न असहज स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय रौतहटले केही दिनदेखि गौर क्षेत्रमा कर्फ्यु जारी गरेको थियो।

पछिल्लो समय अवस्था सामान्य बन्दै गएपछि प्रशासनले आज बिहान ६ बजेदेखि कर्फ्यु पूर्ण रूपमा हटाएको छ। विवादका कारण केही दिनदेखि अशान्त बनेको गौर र आसपासका क्षेत्रमा यस सद्भाव र्‍यालीले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ।

स्थानीय प्रशासन र नागरिक समाजले सबैलाई संयमित रहन र सामाजिक सद्भाव बिग्रन नदिन आग्रह समेत गरेका छन्।

कमेन्टहरु