नेपाली सेनाको वनटन गाडी र पिकअप भ्यान ठोक्किदा पिकअप चालकको मृत्यु


रामनारायण यादव
सप्तरी, २७ साउन । सप्तरीमा नेपाली सेनाको वनटन गाडी र पिकअप भ्यान एक आपसमा ठोक्किँदा पिकअप चालकको मृत्यु भएको छ । सोही दुर्घटनामा दुई जना घाइते भएका छन् ।
बुधबार दिउँसो पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर १ भारदहको कंकालिनी मन्दिर नजिक पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको १८ नम्बर बाहिनी गाईघाटको प्रदेश ३–०१–००१ ग ३७२५ नम्बरको नेपाली सेनाको वनटन गाडी र विपरीत दिशाबाट जाँदै गरेको मे १ च ६९२५ नम्बरको पिकअप गाडी एक आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा पिकअप चालक झापाको दमक बस्ने ४२ वर्षीय मेघराज शर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । दुर्घटनामा पिकअपका सहचालक सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्वर ५ का ५२ वर्षीय भवानी र सेनाको गाडीमा सवार खोटाङको मझुवागढी नगरपालिका वडा नम्वर १० का १८ नम्बर बाहिनी गाईघाटमा कार्यरत नेपाली सेनाका जमदार जीवन गिरी घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेका दुवै गाडी र सेनाको वनटन गाडीका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।






















