खेलकुद

आहा–रारा गोल्डकपको उपाधि सहारा क्लबलाई

नवलपुर टुडे
२०८२ फाल्गुन ९ | मध्यान्ह ०७:११ बजे

पोखरा । घरेलु मैदानमै ट्रफी थामेर आयोजक सहारा क्लबले आहा–रारा गोल्डकपको रजत वर्षको सुखद अन्त्य गरेको छ । पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनलमा सहाराले बलियो प्रतिद्वन्द्वी जावलाखेल युथ क्लबलाई २–० गोलले पराजित गर्दै १२ वर्षको प्रतीक्षा तोड्यो । यसअघि ०७० मा गोल्डकप जितेको सहाराले दोस्रोपल्ट उपाधि उचाल्दा पोखरेली दर्शकले खुसी मनाए ।

खेलको २५ औं मिनेटमा कप्तान सुशील लामाको कर्नर किकमा मुकुन्दकुमार निउरेले फ्लिक हेडरमार्फत जाली चुमाउँदै सहारालाई अग्रता दिलाए । पहिलो हाफ १–० को अग्रता लिँदै सकिएको थियो । खेलको ७३ औं मिनेटमा सुशील लामाकै फ्रि–किकमा टाए डेनिएल बादारुले सशक्त हेडर प्रहार गर्दै टोलीको जित सुनिश्चित गरे । जावलाखेलले १४ वर्षपछि पुनः उपविजेतामा चित्त बुझाउनुपर्‍यो । 

जावलाखेलका फरवार्ड निकोलस ओदाने ह्यामिल्टनलाई चल्न नदिने रणनीतिमा सहारा थियो । जुन रणनीतिमा सहारा सफल भयो । आफ्ना भरपर्दो स्ट्राइकरमाथि घेराबन्दी भएपछि निकोलसको स्थानमा अन्य फरवार्डलाई चलाउने जावलाखेलको रणनीति सफल हुन सकेन । जावलाखेलका प्रशिक्षक सुनिलकुमार श्रेष्ठले आफ्ना विदेशी खेलाडीको प्रदर्शन अपेक्षाकृत नभएको स्वीकारे ।

‘विदेशी खेलाडीबाट जुन स्कोर हुन्छ भन्ने सोचेको थियौं, हाम्रो अट्याक सक्सेस हुन सकेन,’ उनले भने, ‘सहाराको कम्बिनेसनलाई पनि ब्रेक गर्न सकेनौं । फिनिसिङमा समस्या भयो ।’ सबैले कोसिस गर्दा गर्दै पनि सफलता नमिलेको उनले बताए । यसअघि आभा एफसी उज्वेकिस्तानको टोलीसँग खेल्दा युवराज ढकालले रातो  कार्ड पाएकोले आफ्नो सेट टिममा असर परेको श्रेष्ठको भनाइ थियो । 

कमेन्टहरु