रास्वपा छाडेकाहरू भन्छन्– चटकदारलाई होइन, देश बुझेकालाई मत दिनुस्


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका नेताहरूले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा विचार गरेर मात्रै मतदान गर्न आग्रह गरेका छन् ।
शनिबार (फागुन ९) काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरूले चटकदार अनुहारलाई भन्दा देश र समाज बुझेका जिम्मेवार उमेदवारलाई मतदातालाई आग्रह गरेका हुन् । उनीहरूले देश गम्भीर अवस्थामा पुगेकाले सामाजिक सञ्जालको भ्रमभन्दा बाहिर निस्केर सोचविचार गर्न पनि अपिल गरे ।
वाग्मती प्रदेशका उपसभापति रहेर हालै रास्वपा परित्याग गरेका दिनेश हुमागाईंले मतदातालाई भावनात्मक प्रचारभन्दा नीतिगत स्पष्टता र देशवोधका आधारमा मत दिन आग्रह गरे । उनले चुपचाप नभई धेरै अध्ययन गरेर मत हाल्न आग्रह गरे ।
“यो निर्वाचनमा चटकदारलाई मत हाल्ने होइन, राजनीतिक व्यक्तिलाई, देश बुझेको व्यक्तिलाई र समाज बुझेको व्यक्ति र पार्टीलाई तपाईंले चुन्नुस् । चुपचाप फलानो छाप भनिएको छ, चुपचाप होइन, धेरै अध्ययन गरेर मत हाल्नुस् । दुईचार दिन सोचे पनि हुन्छ । तर देशले निकास पाउनुपर्छ, स्थायी सरकार हुनुपर्छ,” उनले भने ।
उनले देशले निकास पाउने र स्थायी सरकार बन्ने गरी मत दिनुपर्नेमा जोड दिए । उनले रास्वपा आफ्नो सिद्धान्तबाट विचलन भएको आरोपसमेत लगाए । समयमा पार्टीले अधिवेशन गर्न नसकेको, निर्वाचनमा उमेवार चयन प्रक्रिया सही नभएको, नेतृत्वमा जवाफदेहिता नभएको कारण आफूले पार्टी छाडेको उनको भनाइ छ ।
रास्वपाबाट अलग भएका प्रणय शमशेर राणाले पार्टी नेतृत्वमाथि संगठनात्मक पारदर्शिता र आन्तरिक लोकतन्त्र कमजोर बनाएको आरोप लगाए । थितिको थालनी र बेथितिको अन्त्य भन्ने नाराका साथ स्थापना भएको पार्टी हाल उल्टो बाटोतिर हिँडेको दाबी गरे । उनले भने, “थितिको थालनी बेथितिको अन्त्य भनेको साढे तीन वर्षमा ठ्याक्कै उल्टो भयो । थितिको अन्त्य र चरम बेथितिको थालनी रास्वपामा देखिएको छ । पार्टी नेतृत्वले जहिले पनि आफूअनुकुलको संगठन बनाउन थाल्यो ।”
रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति समेत रहिसेकी ममता शर्माले पार्टीभित्र अपारदर्शिता बढ्दै गएको बताइन् । बाहिर पारदर्शिताको कुरा गरिए पनि काम उल्टो देखिएका कारण दैनिक पार्टी छाड्नेहरूको संख्या बढिरहेको उनको भनाइ छ ।
उनले जान्नेलाई छान्ने पार्टीको नारा ठीक उल्टो भएपछि आफूले पार्टी छाडेको जानकारी बताइन् । जनतालाई झुक्याउने काम मात्रै रास्वपाले गरिरहेको उनको आरोप छ । – न्युज एजेन्सी






















