प्रधानमन्त्री सुशीला कार्की लुम्बिनीमा


बुटवल । प्रधानमन्त्री सुशीला कार्की लुम्बिनी आएकी छन्। उनले आज मायादेवी मन्दिरमा पूजा–अर्चना गरेकी छन्। लुम्बिनी आगमनका क्रममा उनलाई लुम्बिनी विकास कोषका दस्य–सचिव दीपक श्रेष्ठसहितका पदाधिकारीहरूले उनको स्वागत गरेका थिए। सो अवसरमा प्रधानमन्त्री कार्कीले भगवान बुद्धको जन्मस्थलको ऐतिहासिक तथा धार्मिक महत्वबारे जानकारी लिँदै संरक्षणका कामलाई अझ व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याइन्।
उनले लुम्बिनी केवल नेपालको मात्र नभई सम्पूर्ण विश्वकै साझा सम्पदा भएको उल्लेख गर्दै यसको विकास गर्दा मौलिकता, शान्ति र धार्मिक सहिष्णुतालाई केन्द्रमा राख्नुपर्ने बताइन्। लुम्बिनी विकास कोष, स्थानीय समुदाय र सरोकारवालाबीच समन्वय गरी दीर्घकालीन गुरुयोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारेको कोषका सदस्य श्याम रोकाले जानकारी दिए। कोषका पदाधिकारीहरूले प्रधानमन्त्रीसमक्ष हालसम्म भएका विकास निर्माणका काम, भावी योजना तथा देखिएका चुनौतीबारे जानकारी गराएका थिए।
प्रधानमन्त्रीले ती विषयमा चासो व्यक्त गर्दै आवश्यक नीतिगत तथा संरचनागत सहयोग सरकारबाट उपलब्ध गराइने आश्वासन दिइन्। प्रधानमन्त्री कार्की आज रुपन्देहीमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ।






















