राजनीति

जनकपुरबाट नेपाली कांग्रेसले दिन खोजेका चार सन्देश

नवलपुर टुडे
२०८२ फाल्गुन ६ | बिहान ०९:११ बजे

काठमाडौं । नेपाली कांग्रेसले २१ फागुनको चुनावलक्षित पहिलो चुनावीसभा आज मधेश प्रदेशको राजधानी जनकपुरधाममा राखेको छ । कांग्रेसले यही सभाबाट ‘प्रतिज्ञापत्र’ नाम दिइएको चुनावको घोषणापत्र सार्वजनिक गर्दै छ ।

प्रतिज्ञापत्र ३ फागुनमा काठमाडौंबाट सार्वजनिक गर्न निर्णय गरिएको थियो । तर, कांग्रेसले मधेशलाई प्राथमिकता राखेका कारण प्रतिज्ञापत्र पनि उक्त सभाबाट गर्ने निर्णय गरेको हो ।

आजको सभाबाट कांग्रेसले तीन काम गर्दै छ । पहिलो– सभापति गगनकुमार थापालाई इन्डोर्स गर्ने । दोस्रो– प्रतिज्ञापत्र सार्वजनिक गर्ने । र, तेस्रो– ‘भोट बैंक’ मधेशबाट देशव्यापी चुनावी सन्देश दिने ।

कांग्रेसको यो सभालाई रणनीतिकसभाको रूपमा हेरिएको छ । सभापति थापा आफैँ चुनावी प्रतिस्पर्धाका होमिएको मधेशमा चुनावीसभा गरेर कांग्रेसले चार सन्देश दिन खोजेको छ ।

विरासतको सन्देश

२००७ सालको राजनीतिक आन्दोलनदेखि नै कांग्रेसको विरासत मधेशसँग जोडिएको छ । मधेशको बलमा कांग्रेसले आफ्नो संगठन मात्र विस्तार गरेको थिएन, निर्णायक धक्का पनि दिएको थियो । २०६५ को मधेश आन्दोलनअघिसम्म कांग्रेसको प्रभाव मधेशमा बलियो थियो । २०६४ को मधेश आन्दोलनपछि भने कांग्रेसको संगठन छिन्नभिन्न भयो । जनमत पनि भाँडियो । त्यतिबेला कांग्रेसका हस्तीनेताहरू महन्थ ठाकुर, शतरसिंह भण्डारी, विजयकुमार गच्छदारलगायत दर्जनौँ नेताहरूले नयाँ पार्टी खोले । अनि, मधेशको राजनीतिमा उदाएका उपेन्द्र यादव र सँगै आएको माओवादी केन्द्रले २०६४ सालको संविधानसभा चुनावमा कांग्रेसलाई ठूलो धक्का दिए । त्यसपछि कांग्रेसलाई मधेशमा फर्किन सकस परेको छ । कतिसम्म भने मधेशको मुख्यमन्त्री हुनका लागि एक दशक कुर्नपर्‍यो । कांग्रेसले २०७९ को चुनावमा मत र सिट बढाएको थियो । यद्यपि, त्यतिबेला पनि एमाले मधेशको पहिलो पार्टी बनेको थियो ।

त्यसैले, मतदाता धेरै भएको मधेशमा कांग्रेस सभापति थापाले रणनीतिक रूपमा मत बढाउने र पुरानो विरासत फर्काउने योजना बुनेको देखिन्छ ।

भोट नबदल्न सन्देश

मधेश प्रदेशमा निर्वाचन क्षेत्र र मतदात धेरै छन् । मतदाताको संख्या धेरै भएको र आफ्नो पुरानो विरासत भएका कारणले मधेशको भोटलाई प्रभावमा लिँदा कांग्रेसको सिट संख्या बढाउने देखिन्छ । कांग्रेस नेताहरूले पनि यो कुरालाई नकारेका छैनन् । २०६४ को संविधानसभा चुनावपछि भड्किएको जनमत फिर्ता गर्न सके आगामी चुनाव पार्टीलाई पहिलो बनाउन सकिन्छ भन्ने बुझाइमा कांग्रेस छ ।

मधेश केन्द्रित दलहरूले गुमाउँदै गएको विश्वास र निरन्तरको विभाजन, एमाले संगठित रूपमा कांग्रेसभन्दा कमजोर रहेको र माओवादी छिन्नभिन्न भइसकेका कारणले कांग्रेसले भोट बढाउन सकिने बुझाइमा पुग्नुलाई अन्यथा मानिएको पनि छैन ।

गगनको व्यक्तित्व निर्माण

शेरबहादुर देउवालाई अपवाद मान्ने हो सबै कांग्रेसबाट प्रधानमन्त्री भएका नेताहरू मधेशबाटै निर्वाचित छन् । बीपी कोइराला २०१५ सालमा मोरङबाट निर्वाचित थिए । बीपी रामेछापबाट पनि उम्मेदवार थिए । तर, दाजु मातृका कोइराला नै बीपीलाई चुनावमा हराउन लागेपछि एउटा निर्वाचन क्षेत्रमा केन्द्रित हुनुपर्ने भएकाले रामेछाप छोडेका थिए ।

पछि प्रधानमन्त्री भएका गिरिजाप्रसाद कोइराला पनि मोरङबाट नै निर्वाचित भएका थिए । कृष्णाप्रसाद भट्टराई पनि पर्साबाट निर्वाचित भएका थिए । अहिले भावी प्रधानमन्त्रीको घोषणासहित चुनावमा गएका थापा पनि मधेशबाट निर्वाचित हुन खोजेका छन् ।

त्यसैले, सभापति थापा मधेशबाट निर्वाचित भएर कांग्रेसको सर्वस्वीकार्य नेताको छवि निर्माण गर्न चाहन्छन् । थापा मधेशबाट निर्वाचित भएर बीपी, गिरिजाप्रसाद र भट्टराईकै लहरमा उभिन खेजेका छन् ।

पपुलिस्टको विपक्षमा

अहिले सभापति थापा नयाँ दलहरूले उठाएको पपुलिस्ट नारा र त्यससँगै चलेको लहरबाट डराएको अर्थमा पनि विश्लेषण भइरहेको छ । रवि लामिछाने नेतृत्वको रास्वपा र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीलगायतमा र केही नयाँ अनुहारका कारण काठमाडौं– ४ थापाले पहिला नै असुरक्षित ठानेका थिए । अनौपचारिक संवादमा थापाले त्यो असुरक्षा भाव निकटस्थसँग पहिलादेखि सुनाउँदै आएको उनीनिकटहरू बताउँछन् । त्यसको संकेत विशेष महाधिवेशनको बेलामा पनि थापाले प्रकट गरेका थिए ।

मधेशमा तत्कालन नै पपुलिस्ट राजनीतिको प्रभाव कम पर्ने अनुमानसहित आफ्नो जित र पार्टीलाई भोट बढाउने रणनीति एकसाथ थापाले लिएको अर्थमा पनि हेरिएको छ । तुलनात्मक रूपमा टिकट वितरणमा पनि मधेशममा कम विवाद भएकाले भोट आर्कषित गर्न सहज हुने अनुमान कांग्रेसले गरिरहेको छ ।

कमेन्टहरु