देश

मंगल ग्रह आज ठूलो र चम्किलो देखिँदै छ, हामीले कति बेला हेर्ने ?

जगत ठाडा मगर
२०७७ अशोज २७ | बिहान ०८:०६ बजे

काठमाडौं । आज मंगल ग्रह र पृथ्वी आमने सामने हुँदैछन् । त्यसैले मंगल ग्रह आज सबैभन्दा चम्किलो र ठूलो देखिने खगोलशास्त्रीहरुले बताएका छन् ।

आज जीएमटी २३ः२० मा मंगल, पृथ्वी र सूर्य तीनवटै ग्रह १८० डिग्रीको कोण अर्थात् सीधा लाइनमा हुने अमेरिकी अन्तरीक्ष निकाय नासाले जनाएको छ ।

यस घटनालाई खगोलशास्त्रको भाषामा मंगल ग्रहको ‘अपोजिसन’ अर्थात् आमने सामने भनिन्छ । अपोजिसनको यो घटना हरेक २६ महिनामा एक पटक हुने खगोलशास्त्रीहरु बताउँछन् । यसको मतलब अब मंगल ग्रहको अपोजिसन डिसेम्बर २०२२ भन्दा अगाडि हुने छैन ।

हामीले देख्न सक्छौं ?
पृथ्वी र मंगल ग्रह नजिक हुँदा जहिले पनि एउटा अफवाह फैलिन्छ । मानिसहरु मंगल ग्रह मध्यराति चन्द्रमा जस्तै ठूलो देखिन्छ भन्ने हल्ला फैलाउँछन् । तर यो सत्य होइन । तर सत्य के हो भने राति घर बाहिर निस्किएर आकासमा हेरेमा अलि ठूलो ताराजस्तो चम्किलो वस्तु अवश्य देखिन्छ ।

खगोल फोटोग्राफर ड्यामियन पिचले बीबीसीसँग भनेका छन्, ‘यसलाई हेर्न मध्यरात कुर्नु पर्दैन । रात पर्नासाथ अति चम्किलो तारा जस्तो वस्तु आकाशमा सजिलै देखिन्छ । तपाईं झुक्किनु हुने छैन ।’

यदि मंगल ग्रहलाई अझ राम्रोसँग हेर्न चाहेमा आफ्नो घर नजिकको एस्ट्रोनोमी सेन्टरमा गएर टेलिस्कोपबाट हेर्न सकिने खगोलशास्त्रीहरु बताउँछन् ।

मंगलबारको मंगल ग्रहको दृष्य खास मानिएको छ । किनभने यसको अवस्थितिको उचाइ फोटो खिच्नका लागि उपयुक्त हुने खगोल फोटोग्राफर डियामियन बताउँछन् ।

कमेन्टहरु