प्रबास

‘फायर हर्स’ वर्षको सुरुवातसँगै नयाँ वर्षको रौनक, राष्ट्रपति सीद्वारा आधुनिकीकरणमा जोड

एजेन्सी
२०८२ फाल्गुन ५ | बिहान ०८:११ बजे

बेइजिङ । चिनियाँ नयाँ वर्ष अर्थात् लुनार न्यु इयरको आगमनसँगै चीनसहित एसियाका विभिन्न देश र विश्वभर रहेका चिनियाँ समुदायले ‘फायर हर्स’ वर्षलाई भव्य रूपमा स्वागत गरेका छन्। पारिवारिक पुनर्मिलन, प्रार्थना र परम्परागत खानपिनका साथ मनाइने यो उत्सव लुनार क्यालेन्डरको पहिलो नयाँ चन्द्रमासँगै सुरु भएको हो।

सामान्यतया जनवरी २१ देखि फेब्रुअरी २० को बिचमा पर्ने यो १५ दिने लामो महोत्सवलाई चीन, कोरिया, भियतनाम र थाइल्याण्ड लगायतका देशमा वर्षकै सबैभन्दा महत्त्वपूर्ण पर्वका रूपमा लिइन्छ। नयाँ वर्षको सुरुवाती दुई दिन परिवार र साथीभाइ जम्मा भएर उपहार साटासाट गर्ने र नगद भरिएका रातो खाम बाँड्ने चलन रहेको छ।

नयाँ वर्षको पूर्वसन्ध्यामा बेइजिङमा आयोजित एक विशेष समारोहलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘फायर हर्स’ को उर्जा र लचकतालाई आत्मसात् गर्न आह्वान गरेका छन्। उनले राष्ट्रलाई चिनियाँ आधुनिकीकरणको यात्रामा दृढताका साथ अघि बढ्न प्रोत्साहन गर्दै एकता र शक्तिको सन्देश दिएका छन्। शनिबार आयोजित उक्त स्वागत समारोहमा सीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण चिनियाँ नागरिकलाई ‘स्प्रिङ फेस्टिभल’ को शुभकामना समेत दिएका छन्।

 

2

 

भर्खरै बिदा भएको ‘स्नेक’ (सर्प) वर्षलाई असाधारण भन्दै राष्ट्रपति सीले चीनले जटिल घरेलु र अन्तर्राष्ट्रिय वातावरणका बाबजुद आर्थिक, वैज्ञानिक, प्राविधिक र सैन्य क्षेत्रमा नयाँ उचाइ हासिल गरेको दाबी गरे। करिब दुई हजारभन्दा बढी विशिष्ट व्यक्तिको उपस्थिति रहेको उक्त समारोहमा उनले आगामी १५ औँ पञ्चवर्षीय योजना (२०२६–३०) को खाका तयार भएको समेत जानकारी दिए।

 

3

 

यसका साथै उनले सन् २०२५ मा चीनले हासिल गरेका विभिन्न ऐतिहासिक उपलब्धिहरू जस्तै जापानी अतिक्रमण विरुद्धको युद्धको ८० औँ विजयोत्सव र ग्वान्डोङ, हङकङ तथा मकाउमा सफलतापूर्वक सम्पन्न १५ औँ राष्ट्रिय खेलकुदको पनि स्मरण गरे। नयाँ वर्षले चीनको राष्ट्रिय शक्ति र आत्मविश्वासलाई थप मजबुत बनाउने विश्वास राष्ट्रपति सीले व्यक्त गरेका छन्।

कमेन्टहरु