बेलायतमा एआई च्याट बोटमाथि कडाइको घोषणा


लन्डन । बेलायतका प्रधानमन्त्री किर स्टार्मरले बालबालिकालाई जोखिममा पार्ने कृत्रिम बौद्धिकता (एआई)मा आधारित च्याटबोटहरू विरुद्ध कडा कदम चाल्ने घोषणा गरेका छन् ।
सरकारका अनुसार एआईमार्फत बनाइने अवैध र अश्लील सामग्री नियन्त्रण गर्न नयाँ नियम ल्याइनेछ । सोमबार सार्वजनिक गरिएको योजनाअनुसार सरकारले १६ वर्षभन्दा कम उमेरका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने सम्भावनासहित सार्वजनिक परामर्श सुरु गर्ने तयारी गरेको छ ।
मार्चदेखि सुरु हुने यो परामर्शले सामाजिक सञ्जालको न्यूनतम उमेर सीमा निर्धारण र भीपीएन प्रयोग गरेर अश्लील सामग्री पहुँच गर्ने कार्य रोक्ने उपायसमेत अध्ययन गर्नेछ । प्रविधि द्रुत गतिमा परिवर्तन भइरहेकाले कानुन पनि त्यसअनुसार अद्यावधिक हुनुपर्ने स्टार्मरले बताए ।
उनका अनुसार नयाँ अधिकारले सरकारलाई प्रविधिको विकाससँगै छिटो प्रतिक्रिया दिन सहयोग पुर्याउनेछ, जसले हरेक पटक नयाँ कानुन बनाउन लामो संसदीय प्रक्रिया कुर्नु नपर्ने बताइएको छ । प्रस्तावित नियमअनुसार सबै एआई च्याटबोट सेवा प्रदायकले डिजिटल सुरक्षा कानुन पालना गर्नुपर्नेछ ।
विशेष गरी व्यक्तिको सहमति बिना यौनजन्य तस्बिर वा सामग्री सिर्जना गर्न नपाइने व्यवस्था कडाइका साथ लागू गरिनेछ । यो कदम एलन मस्कको एक्सको प्लेटफर्ममा रहेको ग्रोक च्याटबोटमार्फत बनाइएका विवादास्पद तस्बिरपछि आएको हो ।
यी उपायहरू हाल संसदमा छलफल भइरहेको अपराध तथा बाल संरक्षण सम्बन्धी कानुन संशोधनमार्फत लागू गर्ने योजना सरकारले बनाएको छ । बेलायतको यो कदम अस्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई इन्ष्टाग्राम, फेसबुक, टिकटक र युट्यूबजस्ता सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाएपछि विश्वभर बढ्दो चिन्तासँग सम्बन्धित मानिएको छ ।






















