समाज

थारु संग्रहालय बनाउने घोषणा, बारा–१ मा विजय यादवको जनसम्पर्क तीव्र

नवलपुर टुडे
२०८२ फाल्गुन ४ | मध्यान्ह ०१:११ बजे

बारा, फाल्गुन ३ ।  “अबकी बार जनता सरकार” नारासहित आम जनता पार्टी (आजपा) का बारा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विजय यादव ‘निर्विज’ले थारु समुदायको भाषा, संस्कृति, परम्परा तथा ऐतिहासिक धरोहर संरक्षणका लागि थारु संग्रहालय स्थापना गर्ने प्रतिबद्धतासहित चुनावी अभियानलाई तीव्र पारेका छन्।

कोल्हवी नगरपालिका वडा नं. ५ बलुवा टोल तथा वडा नं. ६ प्रसौनामा आयोजित मतदाता भेटघाट तथा जनसम्पर्क कार्यक्रमका क्रममा यादवले थारु समुदाय नेपालको आदिवासी सभ्यता र संस्कृतिको महत्वपूर्ण अंश भएको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धनलाई राज्यको प्राथमिकतामा राख्ने बताएका छन्।

“थारु समुदायको मौलिक पहिचान, संस्कार, कला, वेशभूषा र जीवनशैली भावी पुस्तासम्म सुरक्षित राख्न थारु संग्रहालय स्थापना अनिवार्य छ। यसका लागि संघीय सरकारबाट आवश्यक बजेट तथा नीति सुनिश्चित गरिनेछ,” यादवले भने।

उनले संग्रहालय स्थापनासँगै थारु सांस्कृतिक पर्यटन प्रवर्द्धन, स्थानीय हस्तकला तथा परम्परागत सीपमा आधारित उद्यम विकास, साथै युवाहरूका लागि रोजगारी सिर्जना गर्ने योजनासमेत सार्वजनिक गरेका छन्।

स्थानीय थारु समुदायका अगुवा तथा नागरिकहरूले थारु संग्रहालय स्थापना भएमा क्षेत्रीय पर्यटन विकास हुने, स्थानीय पहिचान मजबुत हुने र आर्थिक गतिविधि वृद्धि हुने विश्वास व्यक्त गरेका छन्।

कमेन्टहरु