राजनीति

कांग्रेसले सय सिट पार गर्नुछ, गगन थापालाई प्रधानमन्त्री बनाउनुछ : विनोद चौधरी

नवलपुर टुडे
२०८२ फाल्गुन १ | मध्यान्ह ०६:११ बजे
नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार विनोद चौधरीले आगामी निर्वाचनमा कांग्रेसलाई सय सिट पार गराउने लक्ष्य रहेको बताएका छन् । उनले अबको लक्ष्य सय सिट पार गराएर सभापति गगनकुमार थापालाई प्रधानमन्त्री बनाउनु रहेको बताए ।

बर्दघाट नगरपालिका वडा नम्बर १६ मा शुक्रबार चुनाव प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै चौधरीले सोहीअनुरुप कार्यकर्ता र आम शुभेच्छुकहरूलाई चुनावमा खटिन आग्रह गरे । कांग्रेसको एकरुपता र जनलहर देखेर केही प्रतिस्पर्धीहरू अताल्लिएको उनले बताए । हतोत्साहित भएर विभिन्न चलखेलहरू सुरू भए पनि क्रमिक रूपमा त्यो घट्दै गएको उनको भनाइ छ । सबैलाई उत्साहपूर्वक चुनावमा लाग्न उनले आग्रह गरे ।

बदलिएको कांग्रेसलाई आगामी १० वर्षसम्म कसैले पनि औँला उठाउन नसक्ने ठाउँमा पुर्‍याउनुपर्नेमा चौधरीले जोड दिए । फरक प्रसंगमा उनले बर्दघाट १६ मा रहेको सूर्यनगर रंगशालालाई यो क्षेत्रकै नमूना रंगशाला बनाउन सकिने उल्लेख गर्दै त्यसका लागि आफू प्रतिबद्ध रहेको बताए ।

“नेपाली क्रिकेट कप्तान रोहित पौडेल जन्मिएको यस क्षेत्रमा रहेको सूर्यनगर रंगशालालाई नमूना रंगशालाको रूपमा विकास गरी भोलिका दिनमा यहीँ टी-२० खेलाउन सक्ने गरी सबै लागौँ, म प्रतिबद्ध छु”, उनले भने ।

बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले चौधरीको तीन वर्षे कार्यकालमा थुप्रै उपलब्धिहरू हासिल भएको उल्लेख गर्दै अधुरा योजनाको पूर्णता र ५ वर्षे स्थायी कार्यकालका लागि उमेदवार चौधरीलाई विजयी गराउनुपर्ने बताए ।

कमेन्टहरु