राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री


काठमाडौँ, फागुन १। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०|८१ को वार्षिक प्रतिवेदन’ पेस गर्नुहुने भएको छ ।मध्याह्न १२ः१५ बजे हुने बैठकमा प्रधानमन्त्रीले उक्त प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको अध्यागमन ऐन, २०४९ र सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोराबारे जानकारी गराउनुहुने कार्यसूची छ ।
साथै अध्यक्ष दाहालले राष्ट्रपति रामचन्द्र पौडेलबाट अधिवेशन अन्त्यसम्बन्धी सभालाई प्राप्त पत्रको व्यहोराबारे पनि जानकारी गराउनु हुनेछ ।राष्ट्रपतिले संविधानको धारा, ९३ को उपधारा ९३० बमोजिम मन्त्रिपरिषद्को माघ २६ गतेको सिफारिसमा आज राति १२ः०० बजेदेखि लागू हुनेगरी राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको छ ।























