इटालीसँग नेपालको लज्जास्पद हार, निराशजनक प्रदर्शनले नेपालको सुपर–८ सम्भावना कमजोर


काठमाडौं । इटालीले आईसीसी टी–२० विश्वकप–२०२६ मा ऐतिहासिक जित निकालेको छ । इटालीले विश्वकपअन्तर्गत बिहीबार भएको समूह ‘सी’ को खेलमा नेपालविरुद्ध १० विकेटको सनसनीपूर्ण जित निकालेको हो । विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा गरिरहेको इटालीले आफ्नो क्रिकेट इतिहासमै विश्वकपमा पहिलो जित निकालेको हो । यसअघि इटाली समूह चरणको पहिलो खेलमा स्कटल्यान्डविरुद्ध ७३ रनले पराजित भएको थियो ।
विश्वकपमा कुनै पनि टिमले १० विकेटको जित निकालेको यो छैटौँ पटक हो । यसअघि विश्वकपको इतिहासमा अस्ट्रेलिया, दक्षिण अफ्रिका, ओमान, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्डले १० विकेटको जित निकालेका थिए । भारतको मुम्बईस्थित वान्खेडे क्रिकेट रंगशालामा भरिभराउन नेपाली समर्थकमाझ नेपालले प्रस्तुत गरेको १२४ रनको सामान्य लक्ष्य इटालीले १२.४ ओभरमा विकेट नगुमाई पूरा गर्यो । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो भेटमै इटालीले नेपालविरुद्ध रवाफिलो जित दर्ता गरेको हो ।
खेलमा बलिङ र ब्याटिङ दुवैतर्फ नेपालको प्रदर्शन निराशजनक रह्यो । इटालीको जितमा मोस्का दाजुभाईले अर्धशतकीय इनिङ खेले । जस्टिन मोस्का ६० रनमा अविजित रहँदा एन्थोनी मोस्काले ६२ रन जोडे । जस्टिनले ४४ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । यस्तै, एन्थोनीले ३१ बलमा तीन चौका र ६ छक्का प्रहार गरे ।
इटालीविरुद्ध नेपालले ६ बलर प्रयोग गरे पनि कोही सफल बन्न सकेनन् । त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपाल १९.३ ओभरमा १२३ रनमै समेटिएको थियो । नेपालका निम्ति कप्तान रोहितकुमार पौडेलले सर्वाधिक २३ रन बनाएका थिए । रोहितले १४ बलमा दुई छक्का प्रहार गरे ।
ओपनर आशिफ शेखले २० रन बनाए । दिपेन्द्र सिंह ऐरिले १७ बनाए । यी दुईले चौथो विकेटको निम्ति ५० रनको साझेदारी गर्दै धरमाराएको मध्यक्रम सम्हालेका थिए । पछि, १३.५ ओभरमा ऐरि पभेलियलन फर्किएपछि, नेपालको ब्याटिङ झन संकटमा पर्याे ।
नेपालले १३.५ ओभरदेखि १६.५ ओभरमा पुग्दा चार महत्वपूर्ण विकेट गुमायो । १५.४ ओभरमा १६ रन बनाएका आरिफ शेखलाई इटालीका जे जे स्मट्सले टोलीका मार्कस क्याम्पो पियानोबाट क्याच गराउँदै पभेलियनको दिशा देखाए ।
लोकेश बम र गुल्सन झा तीन रनमा आउट भए । नन्दन यादवले रन जोड्न सकेनन् । करन केसीले १८ रन बनाए । इटालीका क्रिसन कालुगामागेले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले १८ रन खर्चिए । बेन मनेन्तीले दुई विकेट लिए । जे जे स्मट्स, जसप्रित सिंह र अली हसनले समान एक विकेट लिए ।
यो हारसँगै नेपालको सुपर–८ सम्भावना कमजोर बनेको छ । नेपालले यसअघि पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनको हार बेहोरेको थियो । यता, दुई खेलबाट दुई अंक जोडेको इटालीले भने प्लेअफ सम्भावनालाई कायम राखेको छ ।
नेपालले अब समूह चरणको तेस्रो खेलमा वेस्ट इन्डिजसँग फेब्रुअरी १५ मा प्रतिस्पर्धा गर्दैछ ।























