विश्वकप: आज इटालीविरुद्ध खेल्दै नेपाल


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम आज इटालीविरुद्ध प्रतिस्पर्धामा उत्रिँदा १२ वर्षपछि विश्वकपमा पहिलो जितको खोजीमा हुनेछ । आज नेपालले आईसीसी टी२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को दोस्रो खेलमा इटालीविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपालले यसअघि दुई पटकको च्याम्पियन इंग्ल्यान्डसँग समूह चरणको पहिलो खेलमा चार रनको साँघुरो हार बेहोरेको थियो । भारतको मुम्बईस्थित वान्खेडे रंगशालामा हुने यो खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि सुरु हुनेछ । यी दुवै टिम आज जारी प्रतियोगितामा पहिलो जितको खोजीमा छन् ।
विश्वकपको मञ्चमा नेपालले यसअघि सन् २०१४ मा पछिल्लो पटक जित निकालेको थियो । बंगलादेशमा भएको उक्त संस्करणमा नेपालले समूह चरणमा हङकङ र अफगानिस्तानविरुद्ध जित निकालेको थियो । नेपालले सन् २०२४ को विश्वकपमा पछिल्लो पटक प्रतिस्पर्धा गरे पनि जितविहीन आफ्नो यात्रा टुंग्याएको थियो । यसपटक प्रतियोगितामा नेपाल समूह ‘सी’ मा छ ।
यो समूहमा नेपालसँगै इंग्ल्यान्ड, इटाली, स्कटल्यान्ड र वेस्ट इन्डिज छन् ।























