नारायणगढको क्याम्पाचौर हजारौं दर्शकसाम्झ घन्कियो नेपथ्य


साँझ सवा ६ बजे आफ्नो ब्याण्डका सदस्यसहित मञ्चमा उक्लिएका नेपथ्यका गायक अमृत गुरुङले एक दर्जन बढी गीत गाए । उनले ‘आँगनैभरि हिउँ नै झरे’बाट प्रस्तुतिको सुरुवात गरेका थिए । त्यसपछि उनले क्रमश: छेक्यो छेक्यो, लामपाते सुर्ती, जोगले हुन्छ भेट, गाउँ गाउँबाट उठ, तालको पानीलगायतका गीत गाउँदा दर्शकहरु सँगै झुमेका थिए । दुई घण्टा दर्शकलाई झुमाएको नेपथ्यले रातो र चन्द्र सूर्यसँगै कार्यक्रमको अन्त्य गरेको थियो ।
प्रस्तुतिकै दौरान गुरुङले बारम्बार नेपालको पर्यटकीय गन्तव्यको सन्देश दिँदै सबैलाई घुम्न आग्रह पनि गरिरहेका थिए । उनले फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुँदै विवेकपूर्ण तरिकाले मताधिकार प्रयोग गर्न पनि आग्रह गरे । कार्यक्रम नेपाल डायरिजले आयोजना गरेको हो । नेपाल डायरिजका सिईओ बिनेश थापाले कार्यक्रम भव्य रुपमा सफल भएको बताए । कार्यक्रमको सबै टिकाट सोल्डआउट भएको थियो ।


















