दुबई यूएई, धर्म–संस्कृति/रीतिथिति, पर्यटन, प्रबास

पुर्ख्यौली ज्ञानले जोडिन्छ भाँचिएको हड्डी

कबिराज राजबंशी
२०८२ माघ २३ | बिहान १२:१० बजे

पुर्ख्यौली ज्ञानले जोडिन्छ भाँचिएको हड्डी
झापाका चन्द्र राजबंशी : औपचारिक शिक्षाभन्दा परको आयुर्वेदिक उपचार विज्ञान

IMG 20260205 222255

नेपाल प्राकृतिक रूपमा सुन्दर देश मात्र होइन, यहाँको प्रकृतिभित्र लुकेका औषधीय वनस्पति र तिनको प्रयोगमा दक्ष आदिवासी समुदायको पुर्ख्यौली ज्ञान पनि उत्तिकै अमूल्य छ। आधुनिक चिकित्सा महँगो र सबैको पहुँचमा नपुगिरहेका बेला यस्ता परम्परागत उपचार पद्धति अझै पनि जनताको भरोसाको केन्द्र बनेका छन्।यस्तै एक उदाहरण हुन्—झापाको कचनकवल गाउँपालिका–६, डूबडुबीका चन्द्र राजबंशी।

एमबीबीएस बिना हड्डी उपचार
औपचारिक रूपमा कक्षा १० सम्म मात्र अध्ययन गरेका चन्द्र राजबंशी विगत धेरै वर्षदेखि हड्डी भाँचिएको, चर्किएको तथा जोर्नीसम्बन्धी समस्या भएका बिरामीको उपचार गर्दै आएका छन्। उनी प्रयोग गर्ने उपचार विधि आयुर्वेदिक र परम्परागत हो, जुन स्थानीय रूपमा उपलब्ध जडीबुटी तथा वनस्पतिको मिश्रणबाट तयार गरिन्छ।
स्थानीयवासीका अनुसार, कतिपय अवस्थामा अस्पतालमा हुने उपचार खर्चिलो र समय लाग्ने भए पनि चन्द्रको उपचारले कम खर्चमा छिटो राहत दिने गरेको छ। त्यसैले झापा मात्र होइन, आसपासका जिल्लाबाट पनि बिरामीहरू उपचारका लागि डूबडुबी पुग्ने गरेका छन्।

दैनिक बिरामी, निरन्तर सेवा
चन्द्र राजबंशीका अनुसार उनको घरमै दैनिक रूपमा बिरामी आउने गर्छन्।
“कहिलेकाहीँ एक दिनमा तीन–चार जनासम्मको उपचार हुन्छ,” उनी भन्छन्।
पछिल्ला दुई–तीन वर्षदेखि उनले उपचारको लिखित अभिलेख राख्न थालेका छन्। अभिलेखअनुसार हालसम्म उनले १२०० भन्दा बढी बिरामीको उपचार गरिसकेका छन्।

‘हात काटी फागु’ को विरासत
चन्द्र राजबंशीको यो ज्ञान अचानक प्राप्त भएको होइन। यो उनको पुर्ख्यौली विरासत हो। उनका पिता फगुलाल राजबंशी झापा क्षेत्रमा ‘हात काटी फागु’ नामले परिचित थिए। त्यो समय, जब आधुनिक अस्पताल र चिकित्सकको सहज पहुँच थिएन, फगुलाल राजबंशी नै यस क्षेत्रका प्रमुख हड्डी उपचारकर्ता थिए।
स्थानीय जानकारहरूका अनुसार झापामा खुलेका धेरै हड्डी उपचार केन्द्रका गुरु नै फगुलाल राजबंशी थिए। उनले जीवनभर उपचार गरेबापत कुनै शुल्क नलिई समाजसेवा गर्दै जीवन बिताए।
“बुवाले कहिल्यै पैसा लिनु हुन्नथ्यो,” चन्द्र सम्झन्छन्,
“औषधि निःशुल्क हुन्थ्यो, उल्टै बिरामी र साथमा आउनेलाई खानासमेत खुवाइन्थ्यो।”

सेवा भाव, तर आर्थिक अभाव
आज धेरै परम्परागत वैद्यहरूले यही पेशाबाट राम्रो आर्थिक हैसियत बनाएका छन्। तर सबैका गुरु मानिने फगुलाल राजबंशीको परिवारको अवस्था भने अझै पनि सामान्य छ।
यसको कारण स्पष्ट पार्दै चन्द्र भन्छन्,
“अहिले पनि हामी उपचारको ठूलो शुल्क लिँदैनौं। औषधिको मूल्य र मेरो सामान्य हाजिरा मात्रै लिन्छु।”

संरक्षण र मान्यताको आवश्यकता
चन्द्र राजबंशीजस्ता व्यक्तिहरू केवल उपचारकर्ता मात्र होइनन्, उनीहरू जीवित ज्ञान–संग्रहालय हुन्। आधुनिक चिकित्सा र परम्परागत उपचार पद्धतिबीच पुल बन्न सक्ने यस्ता सीप र व्यक्तित्वलाई राज्यले अभिलेखीकरण, संरक्षण र औपचारिक मान्यता दिन आवश्यक देखिन्छ।
यदि समयमै ध्यान नदिइए, पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको यस्तो अमूल्य आदिवासी ज्ञान भविष्यमा हराउने जोखिम बढ्दै जाने विज्ञहरू बताउँछन्।

कमेन्टहरु