बलुचिस्तान आक्रमणप्रति राष्ट्रसंघ सुरक्षा परिषद्को कडा निन्दा


काठमाडाैँ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले पाकिस्तानको बलुचिस्तान प्रान्तका विभिन्न स्थानमा शनिबार भएका आतङ्कवादी आक्रमणको कडा निन्दा गरेको छ। मंगलबार जारी गरिएको प्रेस विज्ञप्तिमा सुरक्षा परिषद्का सदस्यहरूले उक्त घटनालाई ‘अत्यन्तै घृणित र कायरतापूर्ण आतङ्कवादी आक्रमण’ भन्दै कडा शब्दमा निन्दा गरेका छन्।
सुरक्षा परिषद्का सदस्यहरूले पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै पाकिस्तान सरकार तथा जनताप्रति हार्दिक समवेदना प्रकट गरेका छन् । साथै घाइतेहरूको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना पनि गरिएको छ।
आतङ्कवादका सबै रूप र स्वरूप अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षाका लागि गम्भीर खतरा भएको उल्लेख गर्दै परिषद्ले विश्व शान्ति र सुरक्षामा आतङ्कवादी गतिविधिबाट उत्पन्न हुने चुनौतीहरूको सामना गर्न सबै राष्ट्रहरू एकजुट हुनुपर्ने आवश्यकता दोहोर्याएको छ।
साथै यस्ता निन्दनीय आतङ्कवादी कार्यमा संलग्न अपराधी, योजनाकार, आर्थिक सहयोगी तथा समर्थकहरूलाई कानुनी दायरामा ल्याई न्यायको कठघरामा उभ्याउनुपर्नेमा जोड दिँदै यस सम्बन्धमा पाकिस्तान सरकारसँग सक्रिय सहकार्य गर्न सबै राष्ट्रहरूलाई आग्रह गरिएको छ।























