अर्थ

अमेरिकामा १२ खर्ब डलरको खर्च विधेयक पारित

एजेन्सी
२०८२ माघ २१ | बिहान ०९:१० बजे

वासिङ्टन डीसी । अमेरिकी प्रतिनिधि सभाले मंगलबार साँझ १२ खर्ब डलरको खर्ब विधेयक पारित गरेको छ । सरकारी कामकाज आंशिक रुपमा ठप्प भएको स्थिति अन्त्य गर्न अन्ततः साँघुरो मतान्तरले विधेयक पारित भएको छ । यो विधेयक को पक्षमा २१७ मत र विपक्षमा २१४ मत खसेको थियो ।  अब राष्ट्रपति डोनाल्ड ट्रम्पले यसमा हस्ताक्षर गरेपछि विधेयक कानुन बन्नेछ ।

यो खर्च विधेयकले रक्षा, श्रम, शिक्षा, स्वास्थ्य सेवा लगायत मुख्य संघीय कार्यक्रमहरुको लागि आगामी सेप्टेम्बर ३० सम्मको बजेट सुनिश्चित गरेको छ । तर गृह मन्त्रालयका लागि भने दुई हप्ताको अन्तरिम बजेट मात्रै निकासा गरिएको छ । यसमा गृह मन्त्रालयका लागि फेब्रुअरी १३ सम्मको मात्रै बजेट छ । योसँगै कांग्रेसलाई  आप्रवासन सुधार र गृहमन्त्रालय सम्बद्ध कानूनमा सहमति गर्न थप दुई हप्ताको समय मिल्नेछ।

अध्यागमनका अधिकारीहरूको गोली लागेर हालै अमेरिकामा मृत्यु र चोटपटकका घटना बढिरहेको समयमा डेमोक्रेटहरू र रिपब्लिकनहरूबिच बजेटमा मतभेद चुलिएको थियो ।

 

डेमोक्र्याटहरुले अध्यागमन निकाय आईसीई र गृहमन्त्रालयको नियमनका लागि  नयाँ पारदर्शिता ऐन ल्याउनु पर्ने माग गरिरहेका छन् । यसै विवादबिच सरकारले गृहमन्त्रालय छोटो समयको लागि बजेट निकास गरेको हो । ।

 

यो विधेयकको पारितसँगै चार–दिन देखि आंशिक रुपमा बन्द भएको सरकारी कामकाज सुचारु भएको छ । यद्यपि आप्रवासन अभ्यासमा अझै राजनीतिक वार्ता जारी रहने अपेक्षा गरिएको छ।

कमेन्टहरु