देश

म यो देश र देशका जनताको सेवाका लागि जन्मिएको हो, प्रधानमन्त्री हुन जन्मिएको होइन : केपी ओली

जगत ठाडा मगर
२०७८ साउन २६ | मध्यान्ह ०२:०४ बजे

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारलाई एक महिनासम्म केही नगरेकोमा बधाई दिएका छन्।

प्रतिनिधिसभामा सम्बोधन गर्ने क्रममा ओलीले एक महिनाको समय सरकारले त्यत्तिकै खेर फालेको र अब १५ महिनाको समय बधाई तथा शुभकामना खाएर र विपक्षी दललाई गाली गरेर बित्ने बताए। ओलीले आफू फेरि पनि सरकारको नेतृत्वमा पुग्ने दाबी गरे। उनले आफू प्रधानमन्त्री बन्न जन्मेको नभई काम गर्दै जाँदा प्रधानमन्त्री भएको बताए।

‘म यो देश र देशका जनताको सेवाका लागि जन्मिएको हो, प्रधानमन्त्री हुन जन्मिएको होइन। काम गर्दै जाँदा प्रधानमन्त्री भएको हो’, उनले भने, ‘फेरि पनि असाधारण जनमतका साथ मूलढोकाबाट सत्तामा पुग्नेछु । नेताहरुको कुण्ठा, जलन, स्वार्थका समिश्रणबाट म प्रधानमन्त्री भएको होइन, मेरा काम हेरेर जनताले मत दिएका हुन्। उछिट्टिएर, जाली मुद्दा जितेर प्रधानमन्त्री भएको होइन, परमादेशबाट पनि भएको थिइन।’

नेपाली जनतालाई संवृद्ध बनाउने उद्देश्य लिएर हिँडेको मान्छेलाई सानातिना अवरोधले फरक नपार्ने बताउँदै उनले अघि भने, ‘मेरो कार्यनिति, योजना बनाएर त्यसैअनुसार अघि बढेको छु।’ ओलीले सम्वृद्ध नेपाल सुखी नेपालीको भावनाअनुसार गठबन्धन गरेको र पवित्र उद्देश्यका साथ पार्टी एकता गरेको बताए। उनले प्रतिपक्षी दलसँग सम्मानजनक व्यवहार गरेको पनि बताए।

ओलीले आफू सरकारमा हुँदा ‘सरकारको गन्तव्य प्रष्ट रहेको, राज्य सञ्चालन गर्दा अपनाउनु पर्ने सजगता अपनाइएको, स्वच्छ र पारदर्शी रुपमा नियुक्त गरेँको, नातावाद क्रिपावादको छाया समेत पर्न नदिएको ओलीले जिकिर गरे। ओलीले असंवैधानिक, अलोकतान्त्रिक, अपवित्र गठबन्धन बनाएर आफूलाई हटाइएको आरोप व्यक्त गरे ।

‘अदालतलाई धेरै विवादमा ल्याउन जरुरी छैन। त्यसका शब्दशब्दको मूल्यांकन इतिहासले गर्नेछ’, ओलीले भने।

कमेन्टहरु