चितवनका एकाघरका दाजुभाइले पहिलोपटक पाए आमाको नामबाट नागरिकता


चितवन, माघ १९। चितवनका दुई युवाले आमाको नामबाट नागरिकता पाएका छन् । खैरहनी नगरपालिका–५ का निश्चल चौधरी र शङ्कर चौधरीले आमाको नामबाट नागरिकता पाएका हुन् ।
आमा निशा महतो (चौधरी) को नामबाट दुई युवाले नागरिकता प्राप्त गरेका हुन । उहाँहरुलाई प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नागरिकता प्रदान गर्नुभएको हो । नागरिकता ऐन र नियमावलीमा पछिल्लो संशोधनपछि जिल्लामा पहिलो पटक आमाको नामबाट नागरिकता प्रदान गरिएको हो । उहाँले भन्नुभयो “महतो आँखा नदेख्ने भएकाले कर्मचारीको सक्रियतामा दाजुभाइलाई नागरिकता दिइएको हो ।” बाबुको सम्पर्क नभएकाले आमाले रेखदेख गर्दै आएका छोराछोरीलाई पहिलो पटक नागरिकता दिन पाउँदा आफू र आफ्ना कर्मचारीको टोली हर्षित भएको उहाँले बताउनुभयो ।
आमाको नामबाट नागरिकता पाउनु आफ्ना लागि महत्वपूर्ण क्षण भएको उहाँहरुले बताउनुभयो । उहाँहरुले क्रमशः २४ र २० वर्षको उमेरमा नागरिकता पाउनुभएको हो ।























