मतदाता भन्छन्ः उम्मेदवार हेरेर आफ्नो मत दान गर्छौं


दशरथचन्द (बैतडी), माघ १८। यहाँको सिगास गाउँपालिका–९ का रवीन्द्र र हिमा बोहराले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो पटक मतदान गर्दैछन् । पहिलो पटक मतदान गर्न पाउँदा उहाँहरु दुवै जना उत्साहित हुनुहुन्छ । साथै पहिलो पटक मतदान गर्दा उम्मेदवारलाई लिएर पनि उत्तिकै सचेत हुनुहुन्छ ।
पहिलो पटक मतदान गर्न लागेकी हिमाले आफ्नो मत सक्षम नेतृत्व दान गर्ने बताउनुभयो । “राम्रो र सक्षम नेतृत्वलाई मतदान गरेर देशको विकास गर्नु आवश्यक छ, त्यसैअनुसार सोच बनाइरहेकी छु”, हिमाले भन्नुभयो, “उम्मेदवारका एजेन्डालाई आफूले मत दिने आधार बनाउने छु ।”
पुर्चौंडी नगरपालिका– ४ का पुष्कर भट्टले उम्मेदवारसँग प्रतिबद्धता गरेर मात्रै आफ्नो अमूल्य मत दिने बताउँछन् । “मताधिकारको प्रयोग पहिलो पटक गर्दैछु । व्यक्तिगत स्वार्थभन्दामाथि नै रहेर योग्य, नैतिकवान्, राम्रो योजना र नीति भएका उम्मेदवारलाई मतदान गर्छु”, उहाँले भन्नुभयो ।
जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख खगेन्द्र भारतीका अनुसार जिल्लामा १२९ मतदानस्थल र २१४ मतदान केन्द्र छन् । जिल्लामा ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र अन्य दुई गरी एक लाख ५६ हजार ३७२ मतदाता छन् ।
सुरक्षा दृष्टिले यहाँका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् । जिल्ला सुरक्षा समितिका अनुसार १२९ मतदानस्थलमध्ये ३३ अतिसंवेदनशील, २८ संवेदनशील र ६८ सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ ।























