देश

एमाले सांसद खिमलाल भट्टराईको टिप्पणी : कांग्रेस कुहिरोकोे काग भयो, माओवादी बैशाखीको खोजीमा छ

जगत ठाडा मगर
२०७८ साउन २६ | मध्यान्ह ०१:०४ बजे

काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद खिमलाल भट्टराईले सत्तारुढ नेपाली कांग्रेसलाई कुहिराको काग भएको टिप्पणी गरेका छन् ।

साथै माओवादी केन्द्र बैशाखीको खोजीमा रहेको उनले टिप्पणी गरे । मंगलबार राष्ट्रिय सभामा विशेष समयमा बोल्दै नेता भट्टराईले सत्तारुढ गठबन्धमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्रको विषयमा टिका टिप्पणी गरेका हुन् ।

भट्टराईले भने ‘कांग्रेस अहिले असाध्यै दयनीय स्थितिमा रहेको छ, सरकारमा छँदा बलियो भएको हो कि भन्ने लाग्न सक्छ । विचारधाराको हिसावले कांग्रेस मृत्युप्राय भइसकेको छ । बिपी सँगसँगै उसको नीति पनि सकिएको छ’ । लिपुलेक, कालापानी हाम्रो हो भन्न नसकेको समस्या ठानिएको उल्लेख गर्दै भट्टराईले ‘यो सरकारले त्यो विषयमा केही गर्न नसक्ने र दिनदहाडै मान्छे मारिदा कांग्रेस बोल्न नसक्ने ’ बताए ।

एमाले नेता भट्टराईले थपे, ‘कांग्रेस अहिले कुहिरोकोे काग भएको छ भने माओवादी बैशाखीको खोजीमा छ । माओवादीका साथीहरुले समीक्षा गरे हुन्छ, कहिले एमालेको पछि लागेर कहिले कांग्रेसको पछि लागेर आफ्नो अस्तित्वको रक्षा गर्नुपरेको छ ।’ तर, एमाले अध्यक्ष केपी ओली राजनेता ठहरिएको उनको दाबी छ ।

उनले भने ‘केपी ओली सिंहदरवार, बालुवाटार छोडेर बालकोट जानुभएको छ तर, सदनमा आउँदा उहाँकै चर्चा बढी सुनिन्छ । सरकार बनिराखेको छैन । यसको पछाडि पनि केपी ओलीकै फोबिया छ कि जस्तो लाग्छ । सडकमा पनि आश लागेको नेतालाई गुटबन्दीबाट हटाउने काम भयो भन्ने छ, राजनेता भनेको के होला ? भन्ने लाग्थ्यो ।

राजनेता भएपछि राजनीति उसकै वरीपरी घुम्दोरहेछ । सडक, सदन र सरकार सबै उसको गाइडेन्समा हिंड्नुपर्ने हुँदोरहेछ ।

कमेन्टहरु