राजनीति

पश्चिम नेपालमै सुविधा सम्पन्न अस्पताल बनाउने मेरो सोच हो : चुन्न प्रसाद पौडेल

नवलपुर टुडे
२०८२ माघ १६ | मध्यान्ह ०५:१० बजे

बुटवल । नेपाली कांग्रेसका महासमिति सदस्य तथा रुपन्देही क्षेत्र नम्बर–२ का उम्मेदवार समाजसेवी एवम् युवाका ढुकढुकी चुन्न प्रसाद शर्मा पौडेलले पश्चिम नेपालमै सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने स्पष्ट योजना सार्वजनिक गर्नुभएको छ।

बुटवल हस्पिटल प्रा.लि.ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै पौडेलले स्वास्थ्य क्षेत्रमा आफूसँग रहेको लामो अनुभव र व्यावसायिक पृष्ठभूमिलाई जनसेवामा रूपान्तरण गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले पश्चिम नेपालका बिरामी उपचारका लागि काठमाडौं वा भारत जानुपर्ने बाध्यता अन्त्य गर्न आफूले ठोस पहल गर्ने बताउनुभयो।

“मेरो अनुभव स्वास्थ्य क्षेत्रमा छ। यही अनुभवको आधारमा पश्चिम नेपालमै आधुनिक, सुविधा सम्पन्न र सर्वसुलभ अस्पताल स्थापना गर्ने मेरो सोच हो,” पौडेलले भन्नुभयो, “यसले बिरामीलाई अन्यत्र जानुपर्ने अवस्था हटाउनेछ र उपचार खर्च पनि सस्तो बनाउनेछ।”उहाँले स्वास्थ्य सेवा आम नागरिकको पहुँचमा पुग्नुपर्ने उल्लेख गर्दै व्यापारिक सोचभन्दा माथि उठेर सेवा केन्द्रित अस्पताल सञ्चालन गरिने दाबी गर्नुभयो। गुणस्तरीय उपचार, दक्ष जनशक्ति र आधुनिक प्रविधि अस्पतालको मुख्य विशेषता हुने उहाँको भनाइ थियो।

आगामी निर्वाचनप्रति लक्षित गर्दै पौडेलले रुपन्देही क्षेत्र नम्बर–२ का मतदातासँग एकपटक आफूलाई सहयोग गर्न आग्रह गर्नुभयो। “अहिलेको निर्वाचनमा एकपटक मलाई सहयोग गरिदिनुहोस्। तपाईँहरूले गर्नुभएको सहयोगलाई मैले कहिल्यै भुल्ने छैन,” उहाँले भावुक अपिल गर्नुभयो।

समाजसेवा, स्वास्थ्य र युवामैत्री दृष्टिकोणका कारण पौडेल पछिल्लो समय रुपन्देही–२ मा आशा र भरोसाको केन्द्रका रूपमा स्थापित हुँदै जानुभएको छ। स्थानीय तहमा रोजगारी सिर्जना, सुलभ स्वास्थ्य सेवा र समग्र बुटवलको विकासका लागि उहाँको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

कमेन्टहरु