राष्ट्रपति पौडेल आगामी मङ्गलबार जापानको औपचारिक भ्रमणमा जानुहुँदै


काठमाडौँ, माघ १४। राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ १८ गतेदेखि २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही माघ १८ गते नेपाल एयरलाइन्सको उडानबाट राति जापान प्रस्थान गर्नुहुने परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिनुभयो । भ्रमण सम्पन्न गरी उहाँ यही माघ २१ गते सोही एयरलाइन्सबाट स्वदेश फर्कनुहुने उहाँले बताउनुभयो ।
राष्ट्रपति पौडेलले माघ १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाउने सन्दर्भमा जापान सरकारको तर्फबाट आयोजना हुने विशेष स्वागत समारोहमा सहभागिता जनाउनुहुने छ । भ्रमणका अवसरमा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेसँग शिष्टाचार भेट गर्नुहुनेछ । भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जापानी व्यावसायिक समुदायसँग बैठकमा सहभागिता जनाउनुका साथै, जापानस्थित नेपाली राजदूतावासले उहाँको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनुहुने मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति पौडेलका साथ उहाँकी धर्मपत्नी श्रीमती सविता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरू रहनुहुनेछ ।























